काठमाडौं : आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार काटेको भन्दै नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर, वडा नम्बर ९ का अध्यक्ष र नगर प्रहरी प्रमुखसँग स्पष्टीकरण मागेको छ। ‘किन कारबाही नगर्ने?’ भनेर प्राधिकरणले तीन जनाको नाममा छुट्टाछुट्टै स्पष्टीकरण सोधेको हो।
प्राधिकरणले मेयर बालेन्द्र शाह (बालेन), वडाध्यक्ष रामजी भण्डारी र नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार काम गरेको भन्दै स्पष्टीकरण मागेको छ। शुक्रवार तीनै जनासँग जवाफ मागेको प्राधिकरणले स्पष्टीकरण लिखित दिन भनेको छ।
नक्सा पासबिनै भवन बनाएको भन्दै प्राधिकरणको निर्माणाधीन भवनको बेराघेरा बिहीवार महानगरको टोलीले भत्काइदिएको थियो। यसले महानगरपालिका र प्राधिकरणबिच खटपट बढेको हो।
प्राधिकरणले सात दिनभित्रै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। एक साताभित्र स्पष्टीकरण नदिए प्राधिकरणले कानुन अनुसार थप कारबाही अगाडि बढाउने जनाएको छ।
प्राधिकरणले यसअघि छुट्टै विज्ञप्ति निकाल्दै काठमाडौं महानगपालिकालाई कर छुटसहित तत्काल आफ्नो भवनको नक्सा पास गर्न पत्राचार गरेको जनाएको छ। यसअघि पनि उसले भवन नक्सापास गर्न महानगरलाई भनेको जनाएको छ।
प्राधिकरणको तीनकुने गैरीगाउँस्थित जग्गाको तारबार हटाएको र सिनामंगलस्थित नयाँ भवनको निर्माण कार्यमा अवरोध पुर्याएकाले स्पष्टीकरण मागेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।
‘हामीले पहिल्यै महानगरसँगको समन्वयमा गैरीगाउँको १४ आना तारबार लगाउँदै थियौं। दुई महिना अगाडि महानगरले यहाँ पार्क बनाउने कुरा गरेको थियो। हामीले मानेका थिएनौं’, उनले भने, ‘हिजो एक्कासि छापामार शैलीमा फेन्सिङ उखलेर लिएर गए।’
प्रवक्ता निरौलाले थपे, ‘जिम्मेवारी पदमा बसेर ऐन मिचेर गैरजिम्मवारी काम गर्नु त भएन नि।’