441211.jpg)
वीरगंज : पर्साको वीरगंज-२२ जगरनाथपुरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। वीरेन्द्र ठाकुरकी २१ वर्षीया पत्नी सञ्चिताकुमारी ठाकुरको बुधवार बिहान साढे ८ बजे मृत्यु भएको हो। घरको कोठामा पँखामा झुन्डिएको अवस्थामा उनको शव बरामद भएको पर्सा प्रहरीले जनायो।
पतिपत्नीबीच मनमुटावका कारण सञ्चिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। माइती पक्षले भने सञ्चिताका पति वीरेन्द्र ठाकुरले परिवारजनसँग मिलेर हत्या गरी झुन्ड्याएको हुन सक्ने आरोप लगाएका छन्।
सञ्चिताका मामा अनिल ठाकुरले केही दिनदेखि दुवै जनाबीच झगडा हुने गरेको र दुई–चार दिनदेखि सञ्चितालाई माइतीमा कुराकानी गर्न नदिएको आरोप लगाए। सोही घटनामा सञ्चिताका पति वीरेन्द्र, जेठाजु ललन ठाकुर, जेठानी प्रतिमा देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले घटना शङ्कास्पद देखिएको बताए। सञ्चिताको माइती बारा, प्रसौनी गापा–७ हरपुर बलुवा हो। उनको डेढ वर्षअगाडि सैलुनमा काम गर्ने वीरेन्द्रसँग धार्मिक रीतिअनुसार विवाह भएको थियो।