PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

थुनामा लैजाँदै गर्दा बालकृष्ण खाण, टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेको नजर समर्थकतिर

थुनामा लैजाँदै गर्दा बालकृष्ण खाण, टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेको नजर समर्थकतिर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाउने आदेश पाएका १६ जनालाई आजै कारागार पठाइएको छ। उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो।

शुक्रवार मुद्दाको थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १६ जनालाई पुर्पक्षामा राख्न आदेश सुनाएका हुन्। पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्वनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिइएको हो। थुनामा चलान गर्दै गर्दा उनीहरुले समर्थकतिर नजर लगाएका थिए। उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट एकै गाडीमा सुन्धारा लगिएको हो।

त्यस्तै, केशव दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, सन्दीप रायमाझी, शमशेर मियाँ, आङटावा शेर्पा, रामशरण केसी, गोविन्द चौधरीलाई पनि कारागारमा राख्न आदेश दिएको हो। तर लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छोड्न आदेश दिएको छ। गुरुङ १० लाख र महर्जनलाई ५ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको हो।

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो। त्यसमाथि सार्वजनकि ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ। कैदका साथै २८ करोड ८१ लाख रुपैयाँ बिगोसमेतको माग गरिएको छ।

उक्त प्रकरणमा अझै १२ जना फरार छन्।



ट्रेन्डिङ पोस्ट

Ncell