PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वाग्मतीमा कुन मन्त्रालयलाई कति  बजेट छुट्याइयो? बजेटमा के के कार्यक्रम अटाए?  



निशा गुरुङ

वाग्मतीमा कुन मन्त्रालयलाई कति  बजेट छुट्याइयो? बजेटमा के के कार्यक्रम अटाए?  

हेटौंडा : आगामी आर्थिक वर्ष २०८०-८१ का लागि वाग्मती प्रदेश सरकारले बजेट ल्याएको छ। शुक्रवार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको हो।

चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको छ। 

आर्थिक वर्ष २०८०-८१ को बजेटमा कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब ७० करोड २७ लाख र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार विनियोजन गरिएको छ। वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेको अर्थमन्त्री बहादुर सिंह लामाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। कूल विनियोजन मध्ये चालु तर्फ ४२ दशमलब ५८ प्रतिशत, पुँजीगत तर्फ ५६ दशमलब ६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ० दशमलब ८ प्रतिशत रहेको अर्थमन्त्री लामाले बताए।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्रातिबाट १४ अर्ब ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।

कुन मन्त्रालयलाई कति बजेट ?

वाग्मती प्रदेशमा रहेको ११ वटा मन्त्रालयमध्ये सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई दिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २१  अर्ब ६६ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

यस्तै, उर्जा तथा सिँचाई मन्त्रालयलाई ७ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयको लागि ४ अर्ब ६२ करोड १७ लाख, स्वास्थ्य मन्त्रालयलाई  ४ अर्ब ७ करोड ४२ लाख रुपैयाँ, श्रम रोजगार तथा यातायात मन्त्रालयलाई ७७ करोड ६ लाख रुपैयाँ, वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ३ अर्ब ३८ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको छ।

पर्यटन उद्योग तथा सहकारी मन्त्रालयलाई २ अर्ब १६ करोड ४३ लाख रुपैयाँ विनियोजन हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २ अर्ब १८ करोड ४ लाख विनियोजन गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ६१ करोड ७८ लाख रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई १२ करोड ९४ लाख रुपैयाँ विनियोजन भएको छ।

के के कार्यक्रम छ बजेटमा?

सरकारले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने घोषणा गरेको छ।

बजेटमा हेटौंडाको कर्रा करिडोर निर्माणको लागि १५ करोड विनियोजन गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि १२ करोड २५ लाख रकम विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नाकोत्तर पठनपाठन सुरु गर्ने घोषणा गरेको छ।

यस्तै, आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ। प्रदेशमा कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडी बढाइनुका साथै प्रदेशभित्र केरा खेती गर्ने किसानलाई प्रोत्साह गरिने अर्थमन्त्री लामाले बताए।

उनले आगामी वर्षदेखि उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गरिने र पशु स्रोतकेन्द्र विकासका लागि बजेट छुट्याइएको समेत बताए। प्रदेश भित्र प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारीका मल कारखानाको लागि ५ करोड रुपैँया विनियोजन गरिएको छ।

प्रदेश भित्र कृषकलाई परिचयपत्र लागू गरिने भएको छ भने चेपाङको पहिचानसँग जोडिएको चिउरी र चमेरा संरक्षण कार्यक्रम प्राथमिकतामा राखिएको मन्त्री लामाले बताए। प्रदेशमा महिला पहिला भन्ने कार्याक्रम लागू गरिने भएको छ।

आगामी आर्थिक वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने समेत मन्त्री लामाले बताए। चितवन जिल्लामा अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन गरिएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समानीकरण अनुदान वापत प्रदेशका ११३ स्थानीय तहका लागि १ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएको छ। वाग्मती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ। 

लामाले जनता आवास कार्यक्रमलाई आउँदो आर्थिक वर्षमा पनि बजेट छुट्याइएको घोषणा गरेका छन्। शहरी तथा शहर उन्मुख क्षेत्रमा सडक, फुटपाथ, साइकल लेन, बिरुवा रोप्ने काम गर्नेगरि पनि बजेट विनियोजन गरिएको छ। 

सरकारले सन् २०२४ लाई वाग्मती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने बजेटमार्फत घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell