PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

स्वस्थ भालेको अभावमा बर्सेनि बतासे अण्डा पार्दै पोथी घडियाल, प्रजनन् केन्द्रमा भालेकै संकट



पहिलोपोस्ट

स्वस्थ भालेको अभावमा बर्सेनि बतासे अण्डा पार्दै पोथी घडियाल, प्रजनन् केन्द्रमा भालेकै संकट

  • वेदबहादुर खड्का -

एक भाले घडियालको पछाडि धेरै पोथी घडियाल गोहीहरु हुन्छन्। यस प्रकृयालाई ‘पोलिग्यामस’ भनिन्छ। यो भनेको एउटा भालेले एकभन्दा बढी पोथीहरुसँग सहवास गर्ने प्रकृतिले दिएको स्वभाव हो। यसलाई कुनै प्राकृतिक विखण्डनले पनि नछुने।

पोथीले भाले खोज्ने समयमा पोथीलाई आ-आफ्नो वसमा राख्नको लागि भाले-भालेबिच जुधाजुध हुन्छ। वयस्क र बलियो एउटा भाले घडियाल गोहीले १० वटासम्म पोथीहरुलाई आफ्नो कब्जामा राख्न सक्छ।

घडियाल गोहीहरुमा भाले लाग्ने समय धेरै लामो हुँदैन। यो समय भनेको करिब ३ महिना (पौष देखि फागुनसम्म) मात्र हुन्छ। यौनिक क्रियाकलाप सकेपछि भाले पोथीहरु छुट्टिन्छन्। पोथीहरु आ-आफ्नो स्थानतर्फ फर्की नदी किनारको बालुवाको ढिस्कोमा चैत महिनामा अण्डा पार्छन् र जेठ अन्तिमतिर गएर बच्चा कोरल्छन्।

घडियाल गोहीहरुले कुखुराले जस्तो ओथारो बस्दैनन् तर आफ्नो गुँडको रेखदेख भने गर्छन्। किनभने यो गोहीको प्राकृतिक प्रक्रिया नै हो। प्रकृतिले चलाई दिएको चलनअनुसार सबै चल्नैपर्छ किनकी प्रकृति अज्ञानी छैन पृथ्वीलाई सन्तुलनमा राख्न मिलाएको चलन होला। तर भाले घडियालहरुले १० वटा सम्म पोथी राख्न वा विवाह गर्न पर्ने उसलाई बाध्यता पनि छ किनकि प्रकृतिमा भाले घडियाल गोहीहरुको संख्या न्यून रहेको पाइन्छ। प्रकृतिले चखेवालाई बहुपत्नी विवाह गर्ने छुट दिएको छैन।

प्रकृतिले चखेवालाई जोडीमै रहने गरी प्रजनन्/जन्म गराई दिएको हुन्छ। मानवलाई पनि प्रकृतिको धर्मअनुसार जोडीमै जन्म दिएको हुन्छ, ढुङ्गे युगमा मानव जोडीमै रहेको पाउँछौ। तर हाल आएर मानवलाई कानुनले पनि जोडीमै रहन बाध्यता गराई दिएको भए पनि कतिपय अवस्थामा लुकीछिपी भए पनि ‘पोलिग्यामस’ स्वभाव देखाउने गर्दछन् अर्थात् बहुपत्नी विवाह गर्ने पनि देखिने गरेको छ।

घडियाल प्रजाति र घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा देखिँदै आएका समस्या र सुझावहरु तल प्रष्ट्याउने प्रयास गरिएको छ।

बायाँ : भाले घडियाल एक आपसमा लड्दै। दायाँ : १२ वर्ष अगाडितिर माऊ आफैँले प्रजनन केन्द्रमा कोरलेका बच्चाहरु, अहिले स्वस्थ्य भालेको अभावले कोरल्न छोडेकोले माऊसँग बच्चा रमाएको दृश्य केन्द्रमा देख्न छोडिसक्यो।


 

गोहीको लिंग निर्धारण तापक्रममा भर पर्नु

घडियाल गोहीहरुलाई बहुपत्नी विवाह गर्न प्रकृतिले नै छुट दिएको छ। जस्तो कि भाले लागेको हाँस वा कुखुराको अण्डा ल्याबमा लगेर जाँचियो भने जन्मने शिशुको लिंग थाहा लाग्दछ भने गोहीको निश्चित अण्डा भए पनि भाले वा पोथी कोरलिन्छ भनेर भन्न सकिदैन। किनभने  वैज्ञानिक अध्ययन र अनुसन्धानले के तथ्य पत्ता लगाएको छ भने घडियाल गोहीहरुमा सेक्स क्रोमोजोम हुँदैन र यसको लिंग पनि वंशाणुले निर्धारण गर्दैन।

यसको सट्टामा लिङ्ग निर्धारण तापक्रममा भरपर्दछ। त्यसैले घडियालले बच्चा कोरलिन प्राकृतिक गुँडमा रहेको बालुवाको तापक्रममा भर पर्नुपर्ने हुन्छ। तर विश्वव्यापी उष्णता/तापक्रम बढी रहेको (प्राकृतिक संरचना खलबलिएको जस्तैः बाढी पहिरो, खडेरी) अवस्थामा प्राकृतिक रुपमा सन्तुलित तरिकाले भालेपोथी कोरलिन सम्भव होला र? सन् २०१५ डिसेम्बरमा जापानको ओकाजाकीमा गरेको अनुसन्धान अनुसार गुँडको तापक्रम ३३.५ डिग्रीमा सबै भाले र ३० डिग्रीमा पोथी जन्मिएको नतिजा देखाएको थियो।

धेरैजसो ठोटरी र छेपारो प्रजाति पनि यस्तै तापक्रममा जन्मिन्छन्। त्यसैले घडियालका बच्चा कोरल्ने मेसिनबाट बच्चा कोरलेर भविश्यमा भालेको संख्या बढाउनु पर्ने देखिन्छ।

 

गोहीको प्रजननमा तापक्रमको असर

तापक्रम उतारचढाब हुँदा घडियालको प्रजननमा ह्रास आएको महसुस गरिएको छ। तर यो थप अनुसन्धानको विषय हुन सक्छ। घडियालले अण्डा चैतमा पार्छ र जेठको तेस्रो हप्तातिर बच्चा कोरल्छ। यो समय मनसुनको सुरुवाती चरण भएकोले अकलझुक्कल पानी पर्ने गर्छ र कुनै वर्ष पानी नपरी लामो खडेरी पनि पर्छ।

प्राकृतिक रुपमा घडियालको संख्या नियन्त्रणमा राख्न प्रकृतिले आफ्नै भूमिका खेल्दछ। जस्तैः प्रि मनसुनको बेलामा लामो खडेरी परेको खण्डमा बच्चाहरु एकदम दुब्लो, लुते जन्मिन्छन्। कारण गुँडमा बढी तापक्रम भएर बालुवामा आद्रता कम भई बालुवा सुख्खा हुन पुग्छ।

बालुवाले अण्डाभित्र भएको तरल पदार्थलाई सोस्दा त्यस्तो भएको हुनसक्छ तर यस्ता बच्चा बचाउन कठिन हुन्छ। सामान्य अवस्थामा समय-समयमा पानी परिरहेको अवस्थामा गुँडमा आद्रता पुग्छ र स्वस्थ बच्चा कोरलिन्छन्।

 

प्राकृतिक अवस्थामा एक प्रतिशतमात्र बाँच्ने दर

कुनै जमानामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश म्यानमार र भुटानमा प्रचुरमात्रामा पाइने घडियाल गोही सन् १९७० ताका आईपुग्दा प्राकृतिक अवस्थामा नेपालमा (५७) समेत गरेर विश्वमा २०० घडियाल रहेकोले यसलाई के गरी जोगाउने भन्ने तत्कालिन संरक्षणविदहरुलाई हुटहुटी चल्न गयो। प्राकृतिक अवस्थामा यसका बच्चाहरु एक प्रतिशतमात्र बाँच्ने अध्ययनले देखायो र यो सवै कारण मानवीय नै रहेको पायो।

‘आवश्यकता नै आविश्कारको जननी’ हो भन्ने तथ्यलाई मनन गरेर चितवन राष्ट्रिय निकुञ्जको कसरामा २०३५ सालमा (सन् १९७८) घडियाल संरक्षण तथा प्रजनन् केन्द्रको स्थापना भयो। यसको मुख्य उद्देश्य भनेको केन्द्रबाट प्रजनन् गराई बच्चा घडियाल उत्पादन गरि हुर्काएर नदीमै छोड्नु रहेको थियो। ३ देखि ४ वर्षको उमेरमा घडियाल गोहीहरु नदीमा छोड्दा गोहीको बाँच्ने दर बढी हुन्छ भनेर यस्तो गरिएको हो।

घडियाल गोही प्रजनन केन्द्र।


केन्द्रको स्थापनाको बेला नारायणी बगरमा रहेका घडियाल गोहीका गुँडहरु खोजी गरेर प्रजनन् केन्द्रमा ल्याई प्राकृतिक रुपमै बच्चा कोरल्ने गरिएको थियो। पोथी घडियालले एकै रातमा सरदर ४०/४५ वटा अण्डा पार्छ।

नारायणी नदी किनारमा पारेका ति अण्डाहरुको बालुवाको ढिस्को के कति उचाइको थियो, कति गहिराइमा अण्डा पारेको थियो, आदि सबै नापजाँच लिएर जस्ताको तस्तै बालुवाको ढिस्को प्रजनन् केन्द्रमा सिर्जना गरि त्यसैमा पारेको अण्डाको सेटिङलाई नबिगारी जस्ताको तस्तै केन्द्रको ढिस्कोमा अण्डा राखी बालुवाले पुरेर प्राकृतिक अवस्थामा बच्चा कोरलिएका थिए।

हालसम्म यस केन्द्रबाट एक हजार आठ सयभन्दा बढी प्रजनन् भएका घडियाल देशका प्रमुख नदीहरुमा लगेर छोडिसकेको अवस्था रहेको छ। यसले नेपालकोमात्र नभई भारतमा समेत घडियालको संख्या बढाउन सहयोग गरेको छ र भर्खरैमात्र नेपालको घडियाल पाकिस्तान पुगेको समाचार आएको छ। यो केन्द्र घडियाल उत्पादनमा दक्षिण एसियामा नाम चलेको छ तर हाल बजेटको अभावले बेलाबेलामा संकटमा पर्ने गरेको छ।

 

प्रजनन केन्द्रमा स्वस्थ्य भालेको संकट हुनु

घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा २०७० सालभन्दा अगाडि दुईवटा वयस्क भाले घडियाल थिए। जुधा–जुध गरेर १ वयस्क भालेको मृत्यू भएपछि प्रजनन् उमेरका केन्द्रमा १ भाले र ११ पोथी रहेको थिए। हाल केन्द्रमा रहेको जीवित भाले २०३५ सालमा यस प्रजनन् केन्द्रमै कोरलिएको बच्चा हो र पोथीहरु पनि सोही वर्षको आसपासमा कोरलिएका हुन्।

उक्त भालेको २०५५ सालदेखि नै राम्रो प्रजनन् क्षमता देखिँदै आएकोमा २०७१ सालदेखि प्रजनन् क्षमतामा ह्रास आई केही गुंडबाट बच्चा काढे पनि औसतभन्दा धेरै कम बच्चा कोरलिएको अवस्था थियो। यही अनुपातमा धुकुर–धुकुर २०७४ सालसम्म घडियालहरुको प्रजनन् भइरहेकोमा त्यसपछि हुन छोड्यो। भाले पोथीको सहवास भएको देखिने गरेको तर आश्चर्य भने पोथीले पारेको अण्डा बतासे देखिन्थे।

अण्डामा भाले लागेको चिन्ह नै नदेखिने हुन्थ्यो र तिनवाट बच्चा कोरलिदैन थिए। अण्डाको रानी/पहेलो भागलाई सूर्यको प्रकाश वा ट्यूबलाइटको प्रकाशतर्फ लक्षित गरेर हेर्‍यौँ भने भाले लागेको छ भने रानीमा कालो धब्वा चिह्न देखिन्छ, छैन भने देखिदैन।

 

विज्ञहरुले दिएको सुझावलाई कम ध्यान दिइनु

माथि उल्लेखित समस्या निवारण गर्न विदेशी गोही विज्ञहरुसमेतको राय बुझ्दा पोथी घडियालहरुमा प्रजननको केही समस्या थिएनन्। भाले बुढो भएर प्रजनन् ह्रास आएको पनि होइन तर वीर्यमा समस्या हुन सक्छ, सोको परीक्षण जाँच गर्नु वा अर्को भालेको व्यवस्था गर्नुपर्ने सल्लाह विज्ञहरुले दिएका थिए।

अतः नेपालमा वीर्य जाँचको सम्भावना नदेखिएको हुँदा, विकल्पमा प्रजनन् केन्द्रमा अर्को भालेको व्यवस्थापन गर्नु जरुरी भएको भनि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले २०७७ साउन २ मा सोही व्यहोराको पत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहल, काठमाडौंमा लेखी पठाएको थियो। मलाई हेक्का भए अनुसार तत्कालिन अवस्थाका विभागका प्रवक्ताले बीबीसी नेपाली चितवनका सम्वाददाता ईश्वर जोशीलाई दिएको अन्तर्वार्तामा चाँडै भालेको व्यवस्थापनतर्फ कदम चालिने छ भनेको सुन्दा खुशी लागेको थियो। तर खै हालसम्म त्यसतर्फ सिन्को भाँचिएको छैन भने पोथीले वर्षेनी बतासे अण्डा पार्न छोडेका छैनन्।

प्रजनन् केन्द्रमा हाल प्राकृतिक अवस्था (नदी बगर)का घडियालका अण्डाबाट परिपूर्ति गर्ने गरिएको छ। यस्तै अवस्थाले अबका दिनमा नेपालको चितवनस्थित स्थापित एउटामात्र घडियाल गोही प्रजनन् केन्द्रमा बच्चा घडियालहरु उत्पादन नभएपछि दीगो रुपमा केन्द्र सञ्चालन कसरी हुन सक्ला र? बेलैमा ध्यान पुगेन भने घडियाल गोही संकटमा पर्ने देखिन्छ।

नारायणी किनारमा पोथीसाथ रहेको भाले घडियाल।


 

प्रजनन् केन्द्र सञ्चालन र नदीका गोहीको अनुगमन कार्य न्यून हुनु

निकुञ्जका प्रमुखहरु राम्रो कामका भोका हुन्छन्। सबै प्रमुखहरुले राम्रो काम गरेर नाम कमाउन खोज्छन्। म दुई दशकसम्म घडियाल प्रजनन् केन्द्रमा काम गर्दा कुनै पनि प्रमुखले राम्रो काम गर्नलाई बजेटको कमी हुन दिएनन्।

गर्न आँटेको कामको प्रस्ताव भने तयार गरि पेश गर्नु पर्दथ्यो। पेश गरेपछि भने बजेटको कमी कहिल्यै भएको महसुस गरिएन। तर पछिल्लो समय अर्थात् २०७८ देखि बजेटको अभाव देखाई विगत ४५ वर्षदेखि अग्रजहरुले गर्दै आएको नारायणीका घडियालको गुँड अनुगमन हुन छाड्यो।

नदीमा छरिएर रहेका घडियालको खोजीनीति भालेपोथीको अनुपात र प्रजनन् केन्द्रबाट नदीमा छोडेका गोही पनि कहाँ पुगे भनेर पछि लाग्ने अग्रजले स्थापित गरेको चलन पनि हराएर गयो। त्यसैगरी बजेटको भर पर्नाले घडियाल पालन गरिएको खोर समयमा सामान्य मर्मत गर्न नसक्नाले प्रजनन् केन्द्रको खोरबाट बाघले घडियाल र त्यही पालन गरेको ठोटरी कछुवासमेत थुतेर लग्यो। खोरको मर्मत गर्न खासै बजेटको आवश्यक्ता नै पर्दैन थियो। केवल इच्छा शक्ति चाहिन्थ्यो।

किलाकाँटी ठोक्ने हथौडा औजार भएपछि प्रजनन् केन्द्रमा काम गर्ने कर्मचारीलाई परिचालन गरे पुग्दथ्यो। यसमा निकुञ्ज प्रमुख स्वयंले किलाकाँटी आफैले ठोक्नु पर्छ भन्न खोजिएको होइन तर प्रजनन् केन्द्रको व्यवस्थापनको जिम्मेवारी तोकिएको अधिकृतहरुले लिनुपर्छ भन्न खोजिएको हो।

प्रजनन् केन्द्रमा आउने पर्यटकबाट उठेको शुल्क त्यहीको व्यवस्थापनमा खर्च गर्नुपर्नेमा केन्द्रका समस्यालाई ज्यूँकात्यूँ राखेर अन्यत्र खर्च गर्ने परिपाटीले प्रजनन् केन्द्रमा बजेटको अभाव खटकिएको हो। मैले आफ्नो कार्यकालमा यस्ता कार्यक्रहरुबिना बजेट नै कर्मचारी परिचालन गरी गरेका काम कतिपय उदाहरण प्रजनन् केन्द्रमा जीवित नै छन्।

खोलानालाका कहाँको गोही कता आयो गयो भनेर चिन्ने सार्मथ्य राख्दथे भने गोहीले पनि चिन्दथ्यो। जसको प्रमाणस्वरुप नजिक गएर फोटो खिच्न दिन्थ्यो र कुनै कुरा यसमा लुकाई रहनु पर्दैन। अग्रजले यस्ता काम बिना बजेटले गर्ने गरेर पनि निरन्तरता दिएका थिए।

चितवनको कसरास्थित घडियाल गोही प्रजनन केन्द्र।


 

बाघ गैंडाको अगाडि अन्य जीवजन्तु कम प्राथमिकतामा पर्नु

निकुञ्जमा गैंडा र बाघवाहेक अन्य जीवहरु प्राथमिकतामा पर्न छोडिसके जस्तो लाग्छ। गैंडाहरु देखिएनन् भनेर निकुञ्जभित्रका घाँसे झाडीहरुमा चैत महिनाजस्तो सुख्खा याममासमेत आगो लगाउनाले अन्य सोही वासस्थानमा रहने स साना जीवजन्तुलाई अवश्य हित हुने देखिदैन।

यसै समयमा सुकेको झाडिभित्र जमिनमा गुँड बनाई (ग्राउन्ड नेस्टिङ) फूल पार्ने धेरै प्रजातिका दुर्लभ चराहरु हुन्छन्। हामीले चिनेजानेकै लुँईचे, तित्रा, मयुर आदि चराहरुले यसै समयमा गुँड बनाएको पाइन्छ। यस्तो मौसममा वन्यजन्तुका वासस्थानमा आगो लाग्नाले विभिन्न चराहरुका गुँडहरु र गुँडमा हुर्किँदै गरेका उड्न सक्षम भै नसकेका बचेराहरु र छिटो भाग्न नसक्ने सरीसृप, कमिला एवं अरिङ्गालका गोलालगायत कैयौं किटपतङ प्रजातिहरु नष्ट हुने कुरा निर्विवाद छ।

अतः वासस्थान व्यवस्थापन गर्दा ठूला र दुर्लभ वन्यजन्तुहरुको साथसाथै ससाना जीव प्रजातिहरुको पनि हितहुने गरी व्यवस्थापन गर्नु उचित होइन र?

त्यस्तै गरेर राप्ती र नारायणी नदीहरुमा घडियाल गोहीहरुको नियमित अनुगमन गरी तिनका गुँडहरु सुरक्षित राख्ने, अण्डाहरु सुरक्षित संकलन गर्ने र प्रजनन् केन्द्रमा ल्याई उचित व्यवस्थापन गरी अधिकाधिक स्वस्थ बच्चाहरु उत्पादन गर्नतिर कार्यक्रमहरु लक्षित गर्न आवश्यक छ। हरेक वर्ष गोही प्रजनन् केन्द्रबाट प्राकृतिक वासस्थानमा छाडिने गोहीका बच्चाहरुको अवस्था, बाँच्ने प्रतिशत र अन्य समस्यामा परेकाहरुको उद्धार उपचार अनुसन्धान कार्यमा पनि ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

साथै, गोही प्रजनन् केन्द्रमा वयस्क भालेको अभावले बच्चा उत्पादनमा ह्रास भएको तथ्यलाई शीघ्र सम्बोधन गर्नुपर्ने कुरा बिर्सन मिल्दैन। माथि उल्लेखित कुराहरु मनन गरी घडियाल गोही संरक्षणका कार्यक्रमहरु लक्षित गरेमा मात्र विगत ४० वर्षदेखि अनवरत रुपमा अग्रजहरुले गोही संरक्षणमा दिँदै आएको योगदानको कदर भएको ठहर्छ र नेपालबाट घडियाल गोही लोप हुन नदिन नेपाल सरकारले गरेको प्रयास सार्थक भएको मान्न सकिन्छ।

प्रजनन केन्द्रमा पालन गरिएका घडियालहरु।



खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत एवं घडियाल गोही विज्ञ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell