हेटौंडा : आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम शनिवार आउँदै छ। उपमहानगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलक्षित नीति तथा कार्यक्रम १३औँ नगरसभामा प्रस्तुत गर्न लागेको हो।
नीति तथा कार्यक्रममार्फत उपमहानगरपालिकाले करिब २ अर्ब ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए। हेटौंडाका १९ वटै वडाहरुलाई भने चालु आर्थिक वर्षमा दिएको बजेटकै शिलिङ दिइएको छ।
असार १० गतेभित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार उपमहानगरले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो। नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा हुने नगरसभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।
नीति तथा कार्यक्रम प्रस्तुतपछि नगरसभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने तयारी उपमहानगरले गरेको छ।