PahiloPost

Mar 3, 2024 | २० फागुन २०८०

लेण्डुप दोर्जीहरूको कुनै देश हुँदैन



पहिलोपोस्ट

लेण्डुप दोर्जीहरूको कुनै देश हुँदैन
भारतमा वियल भएपछिको सिक्किमका पहिलो मुख्यमन्त्री काजी लेण्डुप दोर्जी (बायाँ), सिक्किमको नक्सा (दायाँ)। पृष्ठभूमिमा लाचुङ उपत्यका।

  • सुभाषचन्द्र देवकोटा -

आज विश्व मानचित्रमा सिक्किम भन्ने देश छैन। सन् १९७५ मा भारतले अतिक्रमण गरेर सिक्किमको अस्तित्वलाई सदाको लागि समाप्त पारिदियो। कुनै बेला सिक्किम पनि नेपाल, भारत जस्तै स्वतन्त्र देश थियो भन्ने कुरा अब एकादेशको कथा जस्तै भएको छ। आफ्नै अग्रज पुस्ताको गलत र नाजायज निर्णयको फन्दामा परेर सिक्किमेली जनता भारतीय पराधीनताको शिकार बनेका छन्। भारतीय उत्पीडन र अपहेलामा बाँच्न बाध्य भएका छन्। भारतले सिक्किमलाई विलय गरेको करिब पाँच दशक लामो समय बितिसकेको छ। तर विलयको यो दुःखान्त कथा सिक्किमेली जनताको छातीमा कहिल्यै बिसेक नहुने घाउ भएको छ, जुन पुस्ता दरपुस्ता रहनेछ।

हुन त सिक्किममा लोकतन्त्र पनि आयो, गणतन्त्र पनि आयो। तर दुर्भाग्य, देश भने परतन्त्र भयो। त्यही लोकतन्त्र र गणतन्त्रको बुइँ चडेर सिक्किम पसेको भारतले अन्ततः सिक्किमलाई नै खायो। लोकतन्त्र र गणतन्त्रले सिक्किमको स्वतन्त्रता बचाउन सकेन। सिक्किमको प्राकृतिक सम्पदा, सामाजिक सांस्कृतिक धरोहरमाथि भारतले भोग गरिरहेको छ। जब देशको स्वतन्त्र स्वाधीनता नै गुम्छ भने त्यस्तो लोकतन्त्र, गणतन्त्रको के अर्थ हुन्छ? सिक्किमेली जनताले जति यस्तो विषय अरुले कसरी बुझुन्? दुर्भाग्य, अब यो कुरा बुझ्न धेरै ढिलो भइसकेको छ।

कुनै बेला सिक्किम बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त स्वतन्त्र मुलुक थियो। तर शासक वर्गले ती विशेषताबिचका अन्तरसम्बन्धलाई समयमै व्यवस्थापन गर्न नसक्दा भारतले खेल्ने मौका पायो। लोकतन्त्रको आवरणमा जातीय तथा सांस्कृतिक द्वन्द्वको बीऊ रोपिदियो। सिक्किमलाई अराजकताको आगोमा झोसेर आफ्नो ‘मकसद’ पूरा गर्‍यो।

सिक्किमलाई भारतले एकै दिनमा विलय गरेको थिएन। सिक्किमको विलय भारतको दशकौं लामो रणनीति योजनाको परिणाम थियो। भारतको सिक्किम गाभ्ने योजनामा सिक्किमकै सिक्किम राज्य कांग्रेस नामक राजनीतिक दलले नै सहयोग गरेको थियो, जसको गठन भारतको सहयोगमा सन् १९४९ ताका भएको थियो।

भारतले अफ्ना सरकारी, गैरसरकारी संघसंस्था र व्यक्तिलाई सिक्किममा परिचालन गरेर राजनीति दल, सामाजिक, धार्मिक संघसंस्था र तीनका नेतालाई आफू अनुकूल प्रशिक्षित गर्‍यो। यसका लागि भारतले आर्थिक लगानी पनि ठूलै गरेको थियो। अन्त्यमा भारतले तिनै राजनीति दल, सामाजिक तथा धार्मिक संघसंस्था र नेताहरूलाई सिक्किममा लोकतन्त्र स्थापनाको नाममा आन्दोलित गरायो। सिक्किमेली राजनीतिक दल, सामाजिक तथा सांस्कृतिक संघसंस्थाहरूको काँधमा बन्दूक राखेर भारतले सिक्किमको राष्ट्रियतामाथि गोली चलाएको थियो। सबैतिरबाट कमजोर बनेको सिक्किमको नेतृत्व र राज्य व्यवस्थालाई चेपुवामा पारेर भारतले प्रशासनिक र सुरक्षा प्रतिष्ठानमाथि हस्तक्षेप बढायो। यसरी कुनै बेलाको शान्त, सम्पन्न र आत्मनिर्भर देश आर्थिक, प्रशासनिक र सुरक्षा मामिलामा भारत निर्भर बन्न पुग्यो। अनि बिरालोले मुसा खेलाए जसरी खेलाई-खेलाई अन्त्यमा भारतले आफूमा समाहित गर्‍यो। जे भयो सिक्किमका सामान्य जनताले समय घर्किसकेपछि मात्र पत्तो पाए।

सार्वभौम र स्वतन्त्र राष्ट्र सिक्किमको यस घटना भारतले साना र निर्वल छिमेकी राष्ट्रहरूको अस्तित्वमाथि कुन हदसम्म खेल हुनसक्छ भन्ने उदाहरण तयार भएको छ। अन्तर्राष्ट्रिय स्थापित सबै मूल्य मान्यताको ठाडो बर्खिलाप थियो यस घटना। भारतको यस हर्कतविरुद्ध बोल्ने कोही थिएन। न संयुक्त राष्ट्र संघले बोल्यो न त संसारभरी स्वतन्त्रता, मानव अधिकारका रक्षक भन्ने अमेरिकाले नै। छिमेकी देश चीनले बलियोसँग कुरा उठाएन। यसरी सिक्किमको स्वतन्त्र र स्वाधीनता भारतले हडप्दा समेत न्यायको आवाज उठाउने संसारमा कोही भएन।

सिक्किमलाई भारतमा विलय गर्ने रणनीति निःशन्देह भारतको नै थियो। तर त्यस रणनीति कार्यान्वयनका प्रमुख साझेदार चाहिँ अरु कोही नभएर सिक्किमकै राजनीति दल, प्रशासनिक र सुरक्षा संयन्त्रमा वर्षौँदेखि हैकम चलाएर बसेका रैथाने लेण्डुप दोर्जीहरू नै थिए। राजनीति र विकासका मीठा र रहरलाग्दा कुरा गरेर जनताको संवेदनशीलतामा खेल्न खप्पिस राजनीतिका स्वार्थमण्डुक नै थिए। यसरी विदेशीको भरिया बनेर देशको सार्वभौकिता र स्वतन्त्रतामाथि अन्तर्घात गर्न सक्दारहेछन् भन्ने दृष्टान्त बनेको छ।

निश्चय नै लेण्डुप दोर्जीहरूको कुनै राष्ट्रियता र देश हुँदैन। त्यसैगरी यिनहरूको  राजनीति इमान र धर्म पनि हुँदैन। इमान नभएका यस्ता लेण्डुप दोर्जीहरूका लागि देश, स्वाधीनता र देशभक्तिको अर्थ पनि हुँदैन। सिक्किममा यस्तै इमान नभएका, राष्ट्रियता र देश नभएका लेण्डुप दोर्जीहरूले सत्ता, शक्ति र विलासी जीवनको प्रलोभनमा आफ्नै मातृभूमिको चीर हरण गरे। देशको स्वाधीनता र स्वतन्त्रतालाई सुनको थालीमा राखेर भारतलाई सुम्पिए।

राजनीतिक दलहरूले परिस्थितिको मूल्यांकन र परिणामको आँकलन नगरी भारतको लहलहैमा लागेर राजनीति गर्दा देशको कुन हविगत हुँदो रहेछ भन्ने पीडादयी शिक्षा सिक्किमको परिणतिबाट लिन सकिन्छ।

सिक्किमको अब स्वतन्त्र अस्तित्व छैन। आज पनि भारतको विस्तारवादी रणनीतिमा कमी आएको छैन। भारतले भुटानको आत्मनिर्णयको अधिकारलाई मुठ्ठीमा कैद गरेर राखेको छ। नेपालमाथि विषालु नजर यथावतै छ।

सिक्किमको दुःखान्त इतिहाबाट शिक्षा लिने भनेको नेपालले हो। भारतको प्रभुत्ववादी, विस्तारवादी व्यवहारबाट प्रताडित नेपालले सिक्किम विलयको अन्तरकथा र यसका सत्यतथ्यलाई राम्ररी बुझ्नु र केलाउनु आवश्यक छ। भारतले सिक्किमलाई विलय गराउन अपनाएका रणनीति योजनामा ‘रअ’लगायतका भारतीय संस्थालाई कसरी परिचालन गर्‍यो, त्यहाँका राजनीति दल र तिनका नेतालाई कसरी प्रयोग गर्‍यो भन्ने विषयको समीक्षा गर्नु आजको सन्दर्भमा उत्तिकै महत्वपूर्ण छ।

निःशन्देह, नेपाललाई सिक्किमीकरण गर्ने रणनीतिमा भारत लामो समयदेखि नै सक्रिय छ। जुन कुरा भारतीय कुटनीतिज्ञबाट विभिन्न समयमा प्रकाशित पुस्तकमा उल्लेखित तथ्यहरूले पुष्टि गर्छ। विभिन्न असमान सन्धि सम्झौताको पासोमा पारेर भारतले नेपालका जलस्रोत लगायत प्राकृतिक सम्पदा, प्रशासनिक तथा सुरक्षा प्रतिष्ठानहरूमा अंकुश कस्दै आएको छ। यसका लागि भारतले नेपालका राजनीतिक दल र तीनका नेता, विभिन्न सामाजिक तथा धार्मिक संघ संस्था र व्यक्तिको परिचालन गर्दै आएको घामजस्तै छर्लङ्ग छ। यो पनि सत्य हो कि देशको छिमेकी सार्न सकिँदैन। तर, परिस्थिति बदल्न सकिन्छ।

सिक्किमको प्रकरणबाट शिक्षा लिएर नेपालको राजनीति, प्रशासनिक र सुरक्षा प्रतिष्ठानलाई राष्ट्रघाती लेण्डुप दोर्जीहरूको कालो छायाँबाट मुक्त पार्नु आवश्यक छ। त्यसो भएमात्र हामी नेपाली स्वाभिमानका साथ आफ्नै पौरखमा उभिन सक्नेछौं। स्वतन्त्र र स्वाधीन नेपाली भएर बाँच्न सक्छौं। शिर ठाडो पारेर हेर्न सक्छौं। सबैले बुझ्नैपर्ने कुरा के हो भने देशको राष्ट्रियता ठूलो र सानो भन्ने हुँदैन। राष्ट्रियता नबाँचे देश बाँच्न पनि सक्दैन। देश नबाँचे हामी बाँच्नुको अर्थ पनि हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell