बलिउड ट्रेड एनलिस्ट तरन आदर्श बिग ब्यानरप्रति सधैं सकारात्मक सुनिन्छन्। स्टारकास्ट सिनेमालाई उनले रिभ्यूमा विशेष प्राथमिकता दिन्छन् र फिल्मको सफलताका आधारहरु विश्लेषण गर्छन्। तिनै फिल्मका ट्रेड एनलिस्ट तरनले ‘आदिपुरुष’को विषयमा के गरे त?
उनले फिल्म रिलिज भएपछि ‘वन वर्ड रिभ्यू’ आफ्नो ट्विटरमा पोस्ट गरे - आदिपुरुष : डिसअपोइन्टिङ (निराशापूर्ण)। फिल्मलाई उनले १.५ स्टार दिएका छन्। फिल्मलाई ‘इपिक डिसअपोइन्टिङ’ भन्दै उनले ट्विटरमा लेखेका छन् - निर्देशक ओम राउतसँग ड्रिम कास्ट र भव्य बजेट थियो तर उनले भयंकर गडबड गरे।
#OneWordReview...#Adipurush: DISAPPOINTING.
— taran adarsh (@taran_adarsh) June 16, 2023
Rating: ⭐️½#Adipurush is an EPIC DISAPPOINTMENT… Just doesn’t meet the mammoth expectations… Director #OmRaut had a dream cast and a massive budget on hand, but creates a HUGE MESS. #AdipurushReview pic.twitter.com/zQ9qge30Kv
सीताको जन्मभूमिका विषयलाई लिएर नेपालसम्मै विवादित बन्न पुगेको बहु प्रतिक्षित फिल्म ‘आदिपुरुष’ असफलताको यात्रातिर लागिसकेको छ। तरनमात्र होइन, बलिउडका अधिकांश समीक्षकले फिल्मप्रति थोरै पनि स्नेह देखाएका छैनन्। समीक्षककै लाइनमा उभिएका छन् दर्शकहरु पनि।
फिल्मका माउथ पब्लिसिटी नेगेटिभतिर अत्याधिक छ। रामानन्द सागर कृत रामायण हेरेका दर्शकले ‘आदिपुरुष’प्रति बढी नै आलोचना प्रकट गरेका छन्। यसको असर ‘बाहुबली’ स्टार प्रभासमाथि पनि परेको छ। बाहुबलीपछि दुई असफल फिल्मको लिड रोलमा रहेका उनको खातामा तेस्रो मेघा बजेटको फिल्म पनि फ्लप हुने निश्चित छ।
प्रभासको क्रेज र रामायणको नयाँ भर्सन हेर्न चाहने दर्शकका कारण फिल्मको ओपनिङ भने राम्रो देखिएको छ। हिन्दी भर्सनमा फिल्मले ३५ देखि ३७ करोड ५० लाखसम्मको कारोबार गरेको बलिउड हंगामाले प्रक्षेपण गरेको छ। शाहरुख खानको फिल्म ‘पठान’पछि यो सबैभन्दा बढी ओपनिङमा कमाउने फिल्म बनेको छ। ‘आदिपुरुष’मा प्रभास भगवान रामको भूमिका छन् भने सीताको भूमिका कृति सेनन्। रावणको भूमिकामा सैफ अली खान रहेका छन्।
‘आदिपुरुष’मा रामायणको कथा तोडमरोडको मात्र आरोप लागेको छैन, भीएफएक्सको भद्दा प्रयोगको पनि खिल्ली उडाइएको छ। त्यसो त सुरुको ट्रेलरदेखि नै फिल्ममाथि ट्रोलिङ हुन सुरु भइसकेको थियो। फिल्म समीक्षकहरुले रामायणको कथालाई व्यवस्थित रुपमा ‘ह्यान्डल’ गर्न नसकेको तर्क गरेका छन्।