
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटेको बताएका छन्। १० औं महाधिवेशनबाट एमालेले ७० वर्ष पुरा भएकाले एमालेको कुनै पनि तहको कार्यकारी कमिटीको सदस्य तथा पदाधिकारी हुन नपाउने व्यवस्था गरेको थियो।
उक्त व्यवस्थालाई एमालेले नियम निलम्बन मार्फत केहि समयका लागि फुकुवा गरेको बताए पनि ओलीले शनिवार उमेर हदको व्यवस्था नै हटेको बताए। अखिल नेपाल महिला संघ वाग्मती प्रदेशको सम्मेलनलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले उमेर हद काम नलागेको बताए।
'दुनियामा दुई तीन वटा पार्टी थिए त्यस्तो व्यवस्था गर्ने। चीनिया कम्युनिस्ट पार्टी, साइप्रसको पार्टी र हाम्रो पार्टी। तिनीहरुले पनि छोडे हामीले पनि अन्तिममा छोडेउँ। किनभने यो उपयोगी भएन,' ओलीले भने।
उनले काम गर्नका लागि उमेरले नछेक्ने तर्क गरे। अरु पार्टीमा पनि उक्त प्रावधान नभएकाले एमालेले हटाउनुपरेको ओलीको भनाइ थियो।
'कहि नभएको जात्रा एमालेमा गर्नुपर्ने के जरुरी छ?,' उनले भने ,'काम गर्न नसक्ने छ भने ७० वर्ष चाहिदै चाहिदैन।' उनले नेता कार्यकर्तालाई उमेर हदका पछि नलाग्न पनि निर्देशन दिएका छन्।