हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। शनिवार १३ औँ नगरसभाको बैठकमा उपमेयर राजेश बानियाँले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा यो ११ करोड रुपैयाँ कम हो।
विनियोजित बजेटको खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट प्राप्त ३ करोड ३४ लाख रुपैयाँ र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ। बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड रुपैयाँ, नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा सडकमा उज्यालो शहर कार्यक्रम अन्तर्गत हाइमास्ट लाईट जडानका लागि ७० लाख रुपैयाँ, कर्रा करिडोर निर्माणको निरन्तराका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै राप्ती करिडोर निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर राजेश बानियाँले जानकारी दिए।
उपमहानगरले वडा नम्बर ७ र ८ को सिमना सडकलाई नमुना सडक निर्माण कार्यका निरन्तरताका लागि १ करोड रुपैयाँ, हेटौंडा-४ मा बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड रुपैयाँ, चालु आर्थिक वर्षमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख रुपैयाँ र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख रुपैयाँ, अटो भिलेज निर्माण गर्न ८० लाख रुपैयाँ, पिप्लेक्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरसभाले नीति तथा कार्यक्रम र बजेट भने पास गरेको छैन। नीति तथा कार्यक्रम र बजेट छलफल गरेर जेठ १६ गते पास गर्ने तयारी भएको उपमहानगरका प्रवक्ता सबिन न्यौपाने जानकारी दिए।