युगान्डाको एक विद्यालयमा इस्लामिक स्टेटसँग आवद्ध विद्रोही समूहले आक्रमण गरि विद्यार्थीको हत्या गरेका छन्। पोन्डेवे शहरस्थित लुबिरिहा सेकन्डरी स्कूलमा पाँचजना विद्रोही लडाकूले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ। मारिनेमा अधिकांश विद्यार्थी छन्।
बालबालिका लागि बनाइएको 'डोरमेटरी'मा प्रवेश गरि उनीहरुले आगो लगाएका थिए। साथै, उनीहरुले धारिलो हतियारको समेत प्रयोग गरेका थिए। यो आक्रमणको जिम्मेवार एल्लाइड डेमोक्रेटिक फोर्सेस रहेको बताइएको छ। यो समूहको आधार इलाका कंगोमा रहेको जनाइएको छ।
सो विद्यालयमा ६० जना भन्दा बढी विद्यार्थी अध्ययनरत् थिए। ती मध्ये अधिकांश विद्यालयमा नै बस्थे।
युगान्डाका संचार मन्त्री क्रिस ब्रयोमुन्सीले ३७ जना विद्यार्थीको हत्या भएको पुष्टि गरेका छन्। २० जनाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको र १७ जनाको जलेर मृत्यु भएको उनले बताए। मृतक विद्यार्थीको उमेर सरकारले सार्वजनिक गरेको छैन।
यस्तै, विद्रोही लडाकूले विद्यालयको एक सुरक्षा गार्ड र तीनजना स्थानीयको समेत हत्या गरेको युगान्डाको सेनाले जनाएको छ।
प्रत्यक्षदर्शीहरुका अनुसार धारिलो हतियार प्रयोग गरि विद्यार्थीको हत्या गरेपछि लडाकूहरुले डोरमेटरीमा बम प्रहार गरेका थिए।
लडाकूले ६ जना विद्यार्थीको अपहरणसमेत गरेका छन्। विद्यालयको स्टोरमा रहेको खाना बोक्न ती विद्यार्थीको प्रयोग गरेको खुलेको छ। लडाकू त्यसपछि सीमा हुँदै कंगो प्रवेश गरेको अनुमान छ।
केही विद्यार्थीको शव धेरै नै जलेको अवस्थामा रहेको र डिएनए गरेपश्चात मात्र पहिचान खुल्ने अधिकारीहरुले बताएका छन्। सो आक्रमणमा परी घाइते भएका ८ जनाको अवस्था गम्भीर छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सो आक्रमणको निन्द गर्दै दोषीलाई कारवाही हुनुपर्ने बताएका छन्।
हाल युगान्डाको सेना र प्रहरी विद्रोही लडाकूले आफ्नो अड्डा बनाएको ठाउँतिर गइरहेका छन्। यो अभियानमा युगान्डालाई कंगोको सेनाले समेत साथ दिइरहेको छ।
'सो समूहको अन्त्य गर्न र अपहरणमा परेकाहरुलाई मुक्त गर्न हाम्रो सुरक्षाकर्मीहरु दुश्मनको ठेगानातर्फ जाँदैछ,' युगान्डाको रक्षा मन्त्रालयले भनेको छ। सेनाले विद्रोही लडाकू खोज्न पहाडी इलाकामा हेलिकप्टर परिचालन गरेको छ।