PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा : २० बढी बेपत्ता हुँदा एकजनाको मृत्यु, जलविद्युत् आयोजना पनि प्रभावित



पहिलोपोस्ट

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा : २० बढी बेपत्ता हुँदा एकजनाको मृत्यु, जलविद्युत् आयोजना पनि प्रभावित
सङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवा खोलामा गएराति आएको बाढीले जोखिममा परेको बस्ती । तस्बिर: सुजन बज्राचार्य / रासस

काठमाडौं : मनसुन सुरु भएसँगै पूर्वी नेपालमा भारती वर्षा भइरहेको छ। वर्षासँगै कयौं जिल्लामा बाढी पहिरो गएको छ। हालसम्म बाढीका कारण संखुवासभामा एकजनाको मृत्य भएको छ भने २० जनाभन्दा बढी बेपत्ता भएका छन्।

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिइसकेका छन्। उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरेका छन्।

सङ्खुवासभामा १७ जना बेपत्ता

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ। बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ गएका छन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्।

पाँचथरमा पाँचजना बेपत्ता

गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम-४ हेवाखोलाबाट एक जना रहेका छन्।

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए।

यस्तै बाढीले तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ। याङ्वरक गाउँपालिका-३ र २ मा घर बगाएको स्थानीयले बताएका छन्। यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

ताप्लेजुङमा बेपत्ता खोज्दै प्रहरी

ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो।

निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका-६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन्। मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन्।

यस्तै, सोही स्थानका गणेश तामाङलाई पनि पहिराले बगाएर बेपत्ता भएको छ।  बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ।

यता, वर्षाको क्रम निरन्तर रहेकाले पहिराले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए। यद्यपि, मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताए।

पहिरोले बस्ती नै जोखिममा

तापलेजुङमा चार दिनदेखिको निरन्तरको वर्षा भइरहेको छ। जसकारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिराले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ–ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका-३ आङ्खोपका प्रेमकुमार सेलिङसहितको तीन घर पहिराले बगाएको छ। त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहेका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिए।

यस्तै, सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ। स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिराको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन्।

त्यस्तै, तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका-३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन्। दोभान बजारका स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ। मैवाखोला गाउँपालिका-६ फाकुम्बामा पनि केही घर पहिराको जोखिममा परेका स्थानीयले बताएका छन्। ताप्लेजुङको सदरमुकामसहित धरै क्षेत्रमा विद्युत्समेत अवरुद्ध भएको छ।

जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिराले क्षति गरेको प्रहरीले जानकारी दिएको छ। वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिराले जनधनको क्षति पुर्‍याउन थालेको छ।

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताए। उनले स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि जानकारी दिए। प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गरेका छन्।

मेची राजमार्ग अवरुद्ध

मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ। पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिए। तमोर करिडोरका विभिन्न स्थानमा समेत बाढी र पहिराको प्रभाव रहेकाले समन्वय गरेर मात्र यात्रा गर्न उनले आग्रह गरेका छन्। हेवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम-इलाम हुँदै झापा निस्कने सम्पर्क टुटेको छ।

प्रहरीका अनुसार इखोलामा रहेको बिबिएसल पुलसमेत पहिराले बगाएको छ। उता तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटीय क्षेत्र दोभान बजार जोखिममा परेको छ। दोभान वारि पारि हुने मोटरेबल पुल नजिक गएको पहिराले सडक अवरुद्ध गरेपछि आठराई–क्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्कबिच्छेद भएको डिएसपी लिम्बूले जानकारी दिए।

यस्तै, सिरिजङ्घा गाउँपालिका-४ तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारि गएको पहिराले बाँधथलाबाट गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ।

विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढीपहिराले क्षति पुगेपछि राति गाउँघर अन्धकार बनेका थिए। रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि केही सामान्य भएको छ। गए रातिको वर्षा, बाढी र पहिराले पुगेको क्षतिको थप विवरण प्रहरीले सङ्कलन गरिरहेको छ।

राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell