PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विश्वकप छनोटमा जिम्बावेविरुद्ध मैदानमा उत्रनु अघि रोहितले गरे रणनीतिबारे चर्चा, घरेलु समर्थकले घेरिँदा हुनेछ फरक चुनौती



मुकुन्द घिमिरे

विश्वकप छनोटमा जिम्बावेविरुद्ध मैदानमा उत्रनु अघि रोहितले गरे रणनीतिबारे चर्चा, घरेलु समर्थकले घेरिँदा हुनेछ फरक चुनौती

काठमाडौं : सन् २०१९ देखि २०२३ सम्म चल्यो विश्वकप क्रिकेट लिग २। यो लिगको 'आउटपुट' थियो शीर्ष ३ टोलीले सोझै विश्वकप छनोटमा स्थान पाउने अवसर।

लिगमा औसत सुरुवात गरेको नेपालले बिच ह्वात्तै प्रदर्शन बिगार्यो अनि अन्तिमसम्म आइपुग्दा प्रदर्शनमा निकै सुधार ल्यायो। लिग सकिँदा नेपालले शीर्ष ३ मा स्थान बनाउँदै विश्वकप छनोटमा स्थान बनायो।

'हाम्रा लागि पछिल्ला १२ खेलहरु अत्यन्तै महत्वपूर्ण थियो। १२ मध्येमा ९ खेल जित्नुपर्ने दबाब थियो,' कप्तान रोहितकुमार पौडेलले प्रिम्याच कन्फ्रेन्समा भने,'मोन्टी सर, सबै टिम मिलेर हामीले यो गर्न सफल भयौँ। हामी त्यो मोमेन्टमलाई अघि बढाउन चाहन्छौँ। एसोसिएट राष्ट्रको रुपमा हाम्रो सँधै विश्वकप खेल्ने सपना छ।'

विश्वकप छनोटमा नेपालको प्रतिस्पर्धी हो टेस्ट राष्ट जिम्बावे। हरारे स्पोर्ट्स क्लबमा नेपालले जिम्बावेसँग आज दिउँसो पौने १ बजेबाट खेल्दैछ।

'यहाँको बाउन्ड्री र हाम्रो टिमलाई हेरेर हामी सिंगल डबल्समा केन्द्रित हुनेछौँ। हामी त्यो बाटो अवलम्बन गर्नेछौँ,' कप्तान पौडेलले भने, 'सन् २०१८ मा हामी जिम्बावेसँग खेलेको थियौँ। त्यो टिम र यो टिममा धेरै फरक छ। त्यतिबेला हामी धेरै जसो धेरै योङस्टर नै थियौँ। अहिले हामीले एकदिवसीय मान्यता पाएर धेरै अनुभव लिने अवसर पनि पाइसकेका छौँ।'

नेपाली टोलीका ओपनर आशिफ शेखले पनि यो स्तरमा पुग्न धेरै मेहेनत गरेको बताए। उनले खेलमा खेलाडीहरुले आफ्नो उत्कृष्ट दिन सके जिम्बावेलाई हराउन सकिने बताए।

'हामीले यो स्तरमा आउन धेरै मेहेनत गरेका छौँ। दक्षिण अफ्रिकामा गएर दुई अभ्यास खेलेका थियौँ। यहाँ आएर पनि दुई खेल खेल्यौँ,' शेखले भने,'हामीलाई थाहा छ जिम्बावे बलियो टोली छ। तर, हामीलाई विश्वास छ हामीले हाम्रो उत्कृष्ट दिन सके हामी जित्न सक्षम छौँ।'

कप्तान पौडेलेले आफूहरु जिम्बावे र अन्य राष्ट्रलाई 'स्किल' देखाउन सक्षम भएको बताए।

'हामीले हरेक खेललाई अवसरका रुपमा लिएका छौँ। हामी नेपाली क्रिकेट टोलीलाई विश्वले चिनोस भन्ने चाहन्छौँ,' उनले भने।

सुपर सिक्समा पुग्ने सम्भावना बारे प्रश्नमा पौडेलले प्रशिक्षक मोन्टी देशाइले लिग टू मा दिने गरेको कूटनीतिक जवाफलाई निरन्तरता दिए : 'वान गेम एट अ टाइम'

'हामीले एकपटकमा एउटा खेललाई मात्र लिएका छौँ। त्यसपछि मात्र सुपर सिक्स आउनेछ। एक पटकमा एउटा खेल अनि एक पटकमा एउटा बललाई हेरेर खेल्नेछौँ,' कप्तान पौडेलेल भने।

नेपाल यो स्तरमा आइपुग्नुका पछाडि पछिल्ला वर्षहरुमा गरेको मेहेनतको प्रतिफल भएको उनको बुझाइ छ।

'हामीले राम्रो क्रिकेट खेलिरहेका छौँ। हामी त्यसलाई निरन्तरता दिन चाहन्छौँ,' कप्तान पौडेलले भने, 'ठूला क्रिकेटिङ राष्ट्रहरुलाई हराउन सहज हुनेछैन। खास गरि टेस्ट खेल्ने राष्ट्रहरुलाई। हामी उत्साहित छौँ प्रतियोगिताका लागि।'

जिम्बावेसँग खेल्दा नेपाली टोलीलाई अर्को एउटा नयाँ अनुभव हुनेछ। नेपाली टोलीले खेलेको खेलमा स्टेडियम भरि समर्थक हुने गर्छन घरेलु मैदानमा खेल्दा। विदेशमा गएर खेल्दा पनि कतै न कतैबाट समर्थक भेला भइहाल्छ, नेपाललाई हौस्याउन। समर्थकको बिचमा खेल्ने नेपालको बानी नै परिसकेको छ। तर, यसपाला जिम्बावेमा भने घरेलु टोलीलाई समर्थन गर्न घरेलु समर्थकहरु मैदानमा पुग्नेछन्।

'हाम्रो समर्थनमा समर्थकहरु आउने गर्छन्। यसमा हाम्रो बानी परिसकेको छ। तर, जिम्बावेविरुद्धको खेलमा विपक्षीको समर्थन गर्न समर्थकहरु आउनेछन्,' कप्तान पौडेलले भने, 'हामीले पनि यो अनुभव गर्न पाउनेछौँ। हामी त्यो चुनौती लिन तयार छौँ।'

पहिलोपटक जिम्बावे पुगेका कुशल भुर्तेल पनि विपक्षीको समर्थकसामू खेल्न उत्साहित भएको बताउँछन्।

'म पहिलो पटक जिम्बावेमा आएको छु। पहिलो म्याच नै घरेलु टोली विरुद्ध छ। म एकदमै उत्साहित छु। जिम्बावेको क्राउड हेर्न चाहन्छु। हामी दबाब लिएको छैन,' उनले भने।

जिम्बावेको तयारी

जिम्बावेका कप्तान क्राइग इरभाइनले प्रतियोगिताका लागि राम्रो तयारी भएको बताए।

'यहाँ केहि साँच्चै रोमाञ्चक क्रिकेट आउँदैछ र सिकन्दर रजा, ब्लेसिंग मुजरबानी र सिन विलियम्समा हेर्नको लागि रोमाञ्चक खेलाडीहरू छन्। यो एक उत्कृष्ट प्रतियोगिता हुनेछ,' उनले भने।

त्यस्तै, जिम्बावेका क्रिकेटर सिन विलियम्सले नेपाललाई कमजोर नआँक्ने तर मिलेसम्म ठूलो मार्जिनले जित्ने प्रयास गर्ने बताए।

'हामी राम्रो खेललाई निरन्तरता दिनेछौँ। नेपाललाई हामी हल्का रुपमा लिने छैनौँ। हामी उनीहरुलाई अन्डरइस्टिमेट गर्दैनौँ। तर हामी पहिलो खेल जित्न चाहन्छौँ,' उनले भने।

नेपालले असार ५ गते (जुन २०) मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। असार ७ गते (जुन २२) मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा असार ९ गते शनिवार (जुन २४) मा नेपाल र नेदरल्याण्ड्सबिच खेल हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को तालिका अनुसार नेपाल समूह ‘ए’मा छ। समूह ‘ए’मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्।

क्वालिफायर्समा दुबै समूहबाट तीन/तीन टोली सुपर सिक्समा पुग्नेछ्न्। त्यहाँबाट शीर्ष दुईमा रहने दुई टोलीले भारतमा हुने विश्वकप खेल्नेछ।

क्रिकेट विश्वकप लिग २ मा सानदार फिनिसिङ गर्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालले पछिल्लो समय प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा समेत स्थान बनाएको थियो।

जिम्बावेसँग यसअघिको भेट

सन् २०१८ मा नेपालले विश्वकप छनोटकै क्रममा जिम्बावेसँग खेलेको थियो। यद्यपि, त्यो एकदिवसीय मान्यता प्राप्त खेल थिएन। क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको थियो। जिम्बावेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक बनाएका थिए। जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो।

यही खेलबाट नेपाली स्पीनर ललितनारायण राजवंशीले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

ब्याटिङमा शरद भेषावकर र आरिफ शेखले अर्धशतक प्रहार गरेका थिए। त्यस्तै, रोहित कुमार पौडेलले ३० तथा चौथो नम्वरमा ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले २३ रन जोडेका थिए।

भेषावकरले ४८ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाएका थिए। ५९ बल खेलेका आरिफले ५ चौका प्रहार गर्दै ५० रन जोडेका थिए। पाँचौ विकेटका लागि शरद र आरिफले ७३ रनको साझेदारी गरेका थिए। यस्तै, आरिफले छैटौँ विकेटका लागि रोहितसँग ५९ रनको साझेदारी गरेका थिए। तत्कालीन कप्तान पारस खड्काले ४० रन जोडेका थिए।

ओपनिङमा समस्या कायमै रहे पनि युवा खेलाडीले देखाएको जोसिलो प्रदर्शनका कारण नेपालले पुरै ५० ओभर खेलेको थियो त्यसबखत। नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले दुई-दुई विकेट लिँदा सन्दिप लामिछाने र ललित राजवंशीले एक-एक विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell