काठमाडौं : क्रिकेट विश्वकप छनोट अन्तर्गतको जिम्बावेविरुद्धको खेलमा नेपाल सुरुवाती ब्याटिङमा उत्रिने भएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
आजबाट विश्वकप छनोट अन्तर्गतको खेल सुरु भएको हो। नेपालले असार ५ गते (जुन २०) मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। असार ७ गते (जुन २२) मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा असार ९ गते शनिवार (जुन २४) मा नेपाल र नेदरल्याण्ड्सबिच खेल हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को तालिका अनुसार नेपाल समूह ‘ए’मा छ। समूह ‘ए’मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्।
क्वालिफायर्समा दुबै समूहबाट तीन/तीन टोली सुपर सिक्समा पुग्नेछ्न्। त्यहाँबाट शीर्ष दुईमा रहने दुई टोलीले भारतमा हुने विश्वकप खेल्नेछ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन कुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने