PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

कोशी प्रदेशबारे एमाले-माओवादी किचलो संघीय संसदमा पनि : पर्यटन मन्त्रीले सच्याए त्रुटि



पहिलोपोस्ट

कोशी प्रदेशबारे एमाले-माओवादी किचलो संघीय संसदमा पनि : पर्यटन मन्त्रीले सच्याए त्रुटि

काठमाडौं : प्रदेश १ को नामाकरण भएर कोशी प्रदेश भइसकेको छ। तर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच मतान्तर छ प्रदेश नामाकरणबारे। नामाकरणबारे सुरुमा माओवादीले पनि पक्षमा मतदान गरेको थियो। तर, विरोध बढ्दै गएपछि माओवादी आफ्नो निर्णयबाट पछि हट्यो। नामाकरणबारे आन्दोलन जारी नै छ।

माओवादी नामाकरणको विपक्षमा छ भन्ने अर्को प्रष्ट सन्देश प्रतिनिधि सभामा पनि दिएको छ, आइतवारको बजेटमाथिको छलफलका क्रममा।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मन्त्रालयमातहत भएको बजेट विनियोजनबारे छलफलका क्रममा सांसदहरुलाई दिएको पुस्तकमा कोशी प्रदेशको साटो प्रदेश १ लेखेपछि एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका थिए।

उनले संविधान विपरितको विषयमा छलफल भएको भन्दै प्रश्न गरेका थिए। 'संविधानले दिएको अधिकार बाहिर अर्थात् संविधानको धारा २९५  उपधारा २ बारे केही विषय यहाँ उहाँले राख्नु भएको छ। नेपालको संविधानले प्रदेश १ भन्ने चिन्दैन,' बर्तौलाले भने।

बर्तौलाले नियमापत्ति गरेपछि केहिबेर सभामुख देवराज घिमिरे समेत अलमलमा परेका थिए। केही समय सचिवालयका कर्मचारीसँग छलफल गरेपछि पर्यटन मन्त्री सुदन किरातीलाई जवाफ दिन घिमिरेले रुलिङ गरेका थिए।

किरातीले त्रुटि भएको र त्यसलाई सच्याउने जवाफ फर्काएका छन्। 'प्रदेशको नाम उल्लेख नभइ अंक भएछ त्यसलाई हामी सुधारेर सदनसमक्ष ल्याउने छौं,' किरातीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell