PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

डेढ करोड बराबरको अवैध कपडा बरामद



पहिलोपोस्ट

डेढ करोड बराबरको अवैध कपडा बरामद

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले डेढ करोडको अवैध कपडा बरामद गरेको छ। भारतीय ट्रकमा प्याजका बोराहरुले छोपेर प्याजकै बिल बनाई भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद गरेको हो।

जसमा ९० बोरा विभिन्न किसिमका कपडाहरु छन्। कपडासँगै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतको निगरानीमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक टेबबहादुर कार्कीले बताए।

हेटौंडा-१५ स्थित रातोमाटे चेकपोष्टअगाडि पूर्व-पश्चिम सडकखण्डमा सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको ०६ जीई ५०५३ नम्बरको भारतीय ट्रकलाई रोकेर जाँच गर्ने क्रममा प्याजको बोराहरुले छोपिएको अवस्थामा कपडा भेटिएको थियो।

कपडासँगै ट्रक चालक भारतको पन्जाब राज्यको लोदियाना ग्राम रसलपुर वडा नम्बर ७ बस्ने ३३ वर्षीय रन्जौद सिंह र सह चालक भारतको बिहार राज्यको मोजफरपुर ग्राम माहामाद बस्ने २६ वर्षीय सुधिर कुमार सहनी पक्राउ परेका छन्।

बरामद गरिएको सामग्री थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन ललितपुर पठाएको कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell