PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

भारतीय फिल्म रोक्ने बालेनको निर्णय, के भन्छन् चलचित्रकर्मी?



पहिलोपोस्ट

भारतीय फिल्म रोक्ने बालेनको निर्णय, के भन्छन् चलचित्रकर्मी?

काठमाडौं: भोलिबाट काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन रोकिने भएको छ। ‘आदिपुरुष’ मा समावेश संवाद नहटाएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका हुन्।

तर, बालेनको उक्त निर्णयप्रति केही फिल्म कर्मी र हलसञ्चालकले भने असन्तुष्टि व्यक्त गरे।  

कलाकार दीपकराज गिरीले फेसबुकमार्फत मेयर साहको निर्णयप्रति असन्तृष्टि जनाएका छन्। ‘आदिपुरुष’ का कारण सम्पुर्ण भारतीय फिल्महरु रोक्दा गलत अर्थ लाग्ने उनको तर्क छ।

‘समस्या आदिपुरुषले निकालेको हो। त्यसैले आदिपुरुष मात्रै बन्द गरौ। उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि? उताबाट त धेरै कुरा आउँछ,’ उनले लेखेका छन्।

महानगरको निर्णयप्रति हल सञ्चालकले भने पूर्ण समर्थन जनाएका छैनन्। भारतीय सबै फिल्म रोक्न जायज नहुने उनीहरुको तर्क छ। महानगरको निर्णयबारे मेयर साहसँग कुराकानी गर्नुपर्ने पनि उनीहरुको भनाइ छ।

‘आदिपुरुषमा नेपालीको भावनामा आघात पुर्‍याउने संवाद राखिएको भएर हामीले सहयोग गरेका हौँ। तर, तत्काललाई भारतीय फिल्म रोके पनि सबै रोक्ने भन्ने कुरा हुँदैन। यसविषयमा पछि महानगरसँग पनि कुरा गर्छौँ,’ सिडिसी सिनेमाजका व्यवस्थापक जीवन शाक्यले भने। 

शाक्यले जस्तै तर्क गर्नेमा पर्छन्, निर्देशक केपी पाठक। सबै भारतीय फिल्मलाई एउटै रुपमा हेर्न नहुने पाठकको मत छ। 'सबै हिन्दी फिल्मलाई एउटै डालोमा हालेर रोक्नु भन्दा जुन फिल्ममा गलत सन्देश सम्प्रेषण छ त्यहि मात्रै रोक्दा राम्रो होला,' पाठकले फेसबुकमा भनेका छन्।

भारतीय फिल्म 'आदीपुरुष'मा सीता (जानकी) भारतमा जन्मिएको संवाद समावेश भएपछि विवादमा परेको थियो। नेपालमा मात्रै नभइ भारतमा पनि संवाद हटाउनका लागि साहले  चेतावनी दिएका थिए। संवाद नहटाए महानगरभित्र चल्नै नदिने अडान उनको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell