काठमाडौ : क्रिकेट विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ। जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स सेन्टरमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ८ विकेटले पराजित भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्यो।
नेपालमाथि फराकिलो जित निकाल्न जिम्बाब्वेका दुई ब्याट्सम्यान र एक बलरको प्रदर्शन उच्च रह्यो। जिम्बाब्वेका क्राइग इभान्सले सर्वाधिक अविजित १२१ रन बनाउँदा सिन विलियम्सले १०२ रनको अविजित इनिङ्स खेले। बलिङतर्फ नेपालको ४ विकेट लिएका रिचार्ड एनगरभाको प्रदर्शन उच्च रह्यो।
नेपालको इनिङ्स
सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि पहिलो दुई ओभर रनविहीन बन्न पुग्यो। तर, ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १७१ रनको साझेदारी गर्दै नेपालको पारि उकासे।
शीर्षक्रमका ब्याट्सम्यानले बनाएको लयलाई मध्यक्रम र खासगरी तल्लको क्रमका ब्याट्सम्यानले निरन्तरता दिन भने सकेनन्। निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २ सय ९० रन बनायो।
ओपनर भुर्तेल ९९ रन बनाएर विलिङटन मासाकाड्जाको बलमा बोल्ड आउट हुँदा पहिलो विकेट निराशाजनक हिसावले गयो। ६६ रन बनाएका आशिफ शेखलाई पनि मासाकाड्जाले नै रायन बर्लबाट ३३.५ ओभरमा क्याच आउट गराउँदै जिम्बाब्वेलाई ब्रेक थ्रु दिलाए।
तेस्रो विकेट कप्तान रोहितकुमार पौडेलको गयो। उनले ३१ रन बनाएर आउट हुँदा २ चौका र ३ छक्काको सहायतामा ४१ रन बनाएका युवा ब्याट्स म्यान कुशल मल्ल ठूलो सट खेल्ने सुरुमा टेन्डाइ छतराको बलमा क्याच आउट हुन पुगे। त्यस्तै पाँचौँ विकेटका रुपमा आरिफ शेख १० रन बनाएका क्याच आउट भए।
छैटौँ विकेटका गुलसन झा ४८.२ ओभरमा १३ रन बनाएर आउट हुँदा भीम सार्की ४८.३ बलमा क्याच आउट भए।
त्यस्तै, ६ रन बनाएका दीपेन्द्रसिंह ऐरी ४९.४ ओभरमा क्याच आउट भए। उनको छक्का प्रहारको प्रयास असफल भयो।
बलिङतर्फ जिम्बाब्वेका रिचार्ड एनगाराभाले सर्वाधिक ४ विकेट लिँदा विलिङटन मासाकाड्जाले २ तथा टेन्डाइ छतारा र ब्लेसिङ मुजाराबानीले समान एक एक विकेट लिए।
जिम्बाब्वेको इनिङ्स: दुई शतक
२ सय ९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
पहिलो विकेटका रुपमा जोयलर्ड गम्बीलाई सोमपाल कामीको बलमा गुमायो। दोस्रो विकेट गुलसन झाले २३.२ ओभरमा विस्ले मधिवेरेको लिए।
क्रेइग इरभाइन र सिन विलियम्सले क्रमश १२१ र १०२ रन बनाउँदै नेपालको बलिङ युनिट धराशायी बनाए।
नेपालले आफ्नो दोस्रो खेलमा मंगलवार अमेरिकासँग खेल्नेछ।