PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चीन-अमेरिका संवादहिनतामा 'आइसब्रेक' : पाँच वर्षपछि अमेरिकी विदेशमन्त्री बेइजिङमा



विधुर ढकाल

चीन-अमेरिका संवादहिनतामा 'आइसब्रेक' : पाँच वर्षपछि अमेरिकी विदेशमन्त्री बेइजिङमा
फोटो : REUTERS/Leah Millis/Pool

सांघाई : पाँच वर्षपछि अमेरिकी विदेशमन्त्रीलाई चीनले बेइजिङमा स्वागत गरेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन आइतवार बेइजिङमा अवतरण गर्दा उनलाई स्वगत गर्न अमेरिकी राजदूत निकोलस र चिनियाँ विदेश मन्त्रालयको उत्तर अमेरिका मामिलाका अधिकारीहरु विमानस्थलमा पुगेका थिए। 

बेइजिङमा अवतरण गरेसँगै उनले चिनियाँ समकक्षी छिन कांङसँग भेटवार्ता गरेका छन्। ब्लिंकनको यो भ्रमण पाँच वर्षयता बेइजिङमा भएको पहिलो अमेरिकी विदेशमन्त्रीको भ्रमण हो। साथै उनी बेइजिङ पुग्ने बाइडेन प्रशासनका पहिलो उच्च अधिकारी हुन्। 

उनको यो भ्रमण तिक्ततापूर्ण रहेको चीन-अमेरिकी सम्बन्धमा सुधारको आशा देखाएको छ। यद्यपि यो भ्रमणले ठोस उपलब्धि हासिल गर्ने अपेक्षा भने दुबै देशले गरेका छैनन्। बेइजिङ भ्रमणमा निस्कनु अगाडि अमेरिकी विदेशमन्त्री ब्लिंकनले भ्रमणको उद्देश्य चीनसँग संवादको सुरुवातको रुपमा लिएको प्रतिक्रिया दिएका थिए। 

सन् २०१८ यता अमेरिकी विदेशमन्त्रीको बेइजिङ भ्रमण भएको छैन। चीनबिरुद्ध ‘डिकपल’ नीति लिएको अमेरिकाले पछिल्लो समय चिनियाँ उत्पादन तथा उद्योगहरु माथि प्रतिवन्ध लगाउँदै आएको छ। बाइडेन प्रशासनले लिएको ‘डिकपल’को नीतिप्रति अमेरिकी सहयोगी राष्ट्रहरुले पनि असन्तुष्ट जनाएका छन्। त्यस्तै अमेरिकी व्यवसायिक प्रतिनिधिहरुले पनि यसको असन्तुष्टि जनाउँदै आएका छन्। 

यस वर्ष बेइजिङको सत्तामा आएको परिवर्तनसँगै चीनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न अमेरिकी व्यवसायी नेतृत्वलाई बेइजिङमा स्वागत गरेको छ। यसै महिनामात्र माइक्रोसफ्टका बिल गेट्स र टेस्लाका एलन मस्कले बेइजिङको भ्रमण गरेका छन्। यस वर्षको सुरुवातदेखि एप्पल प्रमुख टिम कुकदेखि मेटा प्रमुख मार्क जुकरवर्गले समेत बेइजिङको भ्रमण गरिसकेका छन्। 

अमेरिकी साझेदार युरोपियन युनियनले समेत अमेरिकी डिकपल नीतिप्रति असन्तुष्टि जनाउँदै ‘डिरिस्क’को नीति अपनाएको छ। आर्थिक संकटबाट गुज्रिएको अमेरिकाले चीनसँग संवादको ढोका खोल्नुपर्ने अवस्था छ। यद्यपि यो भ्रमणबाट ठूलो अपेक्षा विश्लेषकले गरेका छैनन्। 
सांघाईस्थित इस्ट चाइना नर्मल युनिभर्सिटीका प्राध्यापक जोसेफ माहोनीले संवादको कडीको सुरुवात गर्ने अपेक्षा राखे। ‘ठोस उपलब्धि हासिल गर्नुभन्दा पनि संवादको सुरुवात भएको छ,’ उनले भने, ‘भविष्यमा थप उच्चस्तरीय भ्रमणको ढोका खुलेको छ।’

ब्लिंकनको भ्रमण यसअघि फेब्रुअरीमा हुने तय भएको थियो। तर, अमेरिकी आकाशमा 'चिनियाँ बेलुन' प्रवेश गरेसँगै दुई देशबिच तनाव बढेको थियो। अमेरिकाले चिनियाँ बेलुनलाई 'जासुसी बेलुन'को संज्ञा दिँदै ब्लिंकनको भ्रमण रद्द गरेको थियो। यद्यपि, चीनले वातावरणीय अध्ययनका लागि खटिएको बेलुनले बाटो बिराएको प्रतिक्रिया दिएको थियो। साथै त्यसबेला विदेशमन्त्री ब्लिंकनको बेइजिङ भ्रमणको मिति तय नभएको भन्दै भ्रमण रद्द गरेको हल्लामात्र गरेको आरोप लगाएको थियो। 

पछिल्लो समय चिनियाँ वाणिज्यमन्त्री वाङ बेन्ताओ र अमेरिकी व्यापार मन्टी जिना राइमोन्डोबीच मेमा संवाद भएको थियो। 
अमेरिकी अधिकारीहरूले चीनमाथि बढ्दो दबाबका बाबजुद पनि सुस्ताएको अमेरिकी अर्थ व्यवस्थालाई बलियो बनाउन बेइजिङसँग व्यापार साझेदारलाई अगाडि बढाउन जुटेका थिए। त्यस्तै अमेरिकी वाणिज्य अधिकारीहरुले बेइजिङको भ्रमण गर्ने अपेक्षा गरिएको छ।

अमेरिकामा अहिले वित्तीय संकट बढ्दै गएको छ। अमेरिकी केही बैंक रुग्ण भएका छन्। यस्तो अवस्थामा अमेरिका चीनसँग व्यापार साझेदार गरी संकट कम गर्न चाहन्छ। सन् २००८ को वित्तीय संकटका बेला पनि अमेरिकी ट्रेजरी सेक्रेटरी हेनरी पाउलसन बेइजिङको भ्रमण गरेका थिए। त्यतिबेला चीनले ठूलो मात्रामा अमेरिकी ट्रेजरी बन्ड खरिद गरेको थियो। 

मेको दोस्रो साता चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको विदेश मामिला आयोगका कार्यालयका निर्देशक तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य वाङ यीले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबी भियनामा संवाद भएको थियो। 

त्यसअघि बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सले मे ८ मा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङसँग भेट गरेका थिए। यही भेटवार्तापछि भियनामा चिनियाँ उच्च कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच वार्ताको सम्भावनाको ढोका खोलेको हो। त्यस्तै मे ८ कै वार्ताबीच चीन र अमेरिकी व्यापार अधिकारीबीच संवाद भएको थियो। जुनको पहिलो सातामात्र अमेरिकी विदेश मन्त्रालयका चीन र ताइवान हेर्ने उपमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका यस क्षेत्र हेर्ने निर्देशकले बेइजिङको भ्रमण गरेका थिए। 

अमेरिकाले चीनसँगै सैन्य वार्ता गर्न चाहेको थियो। अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र उनका चिनियाँ समकक्षी लि साङ्फूसँग भेटवार्ताका लागि इच्छुक रहेको र त्यसका लागि प्रस्ताव गरे पनि चीनले अस्वीकार गरेको थियो। यसै महिनाको पहिलो साता सिंगापुरमा भएको सांग्रिला डायलगको साइडलाइनमा दुई मन्त्रीले हात मिलाए पनि संवाद भने गरेनन्। 

गत वर्ष अस्टिनले सिंगापुरमै तत्कालीन चिनियाँ रक्षामन्त्री वेइ फङहसँग भेट गरेका थिए। फेब्रुअरीमा बेलुन खसालिएपछि चीनले सबै रक्षा संवादलाई रोकेको घोषणा गरेको थियो। साथै अमेरिकी रक्षामन्त्रीले टेलिफोन संवाद चाहे पनि चीनले अस्वीकार गरेको थियो।

अर्कोतर्फ चिनियाँ रक्षामन्त्री लिलाई अमेरिकाले २०१८ देखि प्रतिबन्ध लगाएको छ। यसले पनि चीनलाई रक्षामन्त्री बीचको वार्ता अनिश्चित छ। तर, ब्लिंकनको यो भ्रमणले दुई देशबीच रोकिएको संवादलाई सुरुवात गर्नेछ। ‘पक्कै पनि उनको भ्रमणबाट धेरै अपेक्षा नराखौँ। तर, उनले चिनियाँ पक्षसँग संवादमार्फत उच्चस्तरी भ्रमणका तालिका तथा योजनाहरु तय गर्न सक्छन्,’ सांघाईस्थित फुदान विश्वविद्यालयको अमेरिका अध्ययन केन्द्रका प्रमुख उ सिनवोले भने। 

यसपछि चिनियाँ विदेशमन्त्री छिन र राष्ट्रपति सिका उच्च कुटनीतिक सल्लाहकार वाङले वासिङटनको भ्रमण गर्न सक्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell