PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सरकार चलाइरहेका प्रचण्ड किन पुगे मोर्चाबन्दीमा? बाबुराम 'आउट' हुनुको कारण के?



प्रकाश भण्डारी

सरकार चलाइरहेका प्रचण्ड किन पुगे मोर्चाबन्दीमा? बाबुराम 'आउट' हुनुको कारण के?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको ६ महिनामा मोर्चाबन्दीको निचोडमा पुगेका छन्। यसअघि पटक पटक मोर्चा बनाउने बारे गृहकार्य भए पनि टुंगो लागेको थिएन। स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचन अघि पनि तत्कालीन सत्ता गठबन्धनभित्रै उपगठबन्धनका रुपमा मोर्चा बनाउने कसरत भएको थियो। तर, त्यतिबेला दलहरु सिट बाडफाँटमै अल्झिएपछि समाजवादी मोर्चा बन्न सकेन।

गत वर्ष पुस १० गते प्रधानमन्त्री बन्न एमालेको काँध खोजेका प्रचण्ड दुई महिनामै ‘युटर्न’ भएका थिए। फागुन १३ गते भएको राष्ट्रपति निर्वाचनको मनोनयनमा प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको सहकार्य टुट्यो। फेरि पुरानै सत्ता गठबन्धनमा फर्किएका प्रचण्ड नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपाको) समर्थनमा सरकार चलाइरहेका छन्। एमाले बाहेकका ठूला संसदीय दलको समर्थन पाइरहेको भए पनि उनी मोर्चाबन्दीका लागि तयार भएका छन्।

सोमबार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध हुने समाजवादी मोर्चा, नेपाल घोषणा हुने तय भएको छ। आइबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले मोर्चाबारे अन्तिम टुंगो लगाएको हो। सोमबार बिहानको बैठकले मोर्चाको १५ बुँदे घोषणापत्र पनि तयार पारेको छ।

‘आवश्यक परेमा तलसम्म नै मोर्चा बनाउने गरि तय भएको छ। चार दलका शीर्ष नेताले घोषणापत्रलाई फाइनल गरेका छन्,’ नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने।

घोषणापत्रमा यसअघि सरकारले बनाएको साझा न्यूनतम कार्यक्रममा जस्तै कार्यक्रमहरुलाई अघि सारेर घोषणा पत्र बनेको हो। विभिन्न आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न पहल गर्ने प्रतिबद्वता पनि घोषणापत्रमा जनाइएको छ। संविधानको कार्यान्वयन र समाजवादका लागि जनमत तयार पार्ने पनि मोर्चाको उद्देश्य छ।

किन आवश्यक पर्‍यो समाजवादी मोर्चा?

नेताहरुका अनुसार मोर्चाका मुख्यगरि दुई योजना छन्। पहिलो - संसदमा एउटै आवाज बनाउने र अर्को समाजवादका लागि जनमत तयार पार्ने।

‘संसदमा एउटै आवाज बनाउन र समाजवादको बारेमा तलसम्मै जनमत बनाउनका लागि मोर्चा बनाउन लागिएको हो,’ खतिवडाले भने।

चारवटै पार्टीका नेता सम्मिलित समितिले मोर्चा सञ्चालनबारे सहकार्य गर्ने तय भएको छ। आलोपालोमा नेतृत्व गर्ने सहमति पनि शीर्ष नेताले जुटाएका छन्। यस्तै, मोर्चामा नेतालाई नभइ पार्टीलाई सदस्य बनाउने मोडालिटी तय भएको मोर्चामा सहभागी एक नेताले बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने समाजवादी मोर्चा कांग्रेसलाई तर्साउनका लागि बनाइएको आरोप लगाएका छन्।

‘समाजवादी मोर्चा बनाएर हुन्छ के? एउटा एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउन,' ओलीले शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा टिप्पणी गरेका थिए। कांग्रेसका नेताहरुले भने समाजवादी मोर्चाका बारेमा केहि टिप्पणी गरेका छैनन्।

मोचाबन्दी पुरानै रणनीति

प्रचण्डले आफूलाई अप्ठेरो परेका बेलामा अरु दललाई समेत साथामा लिएर मोर्चाबन्दीको प्रयास गर्ने पुरानै रणनीति हो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद भएपछि पनि प्रचण्डले मोर्चाबन्दी गरेका थिए। ओलीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस लगायतका दललाई साथमा लिएर प्रचण्ड आन्दोलनमा उत्रिएका थिए त्यतिबेला पनि। 

२०७२ सालमा संविधान बन्नअघि पनि प्रचण्डले २२ दलीय मोर्चा बनाएका थिए। संविधानमा आफ्नो एजेणडाबारे लबिङ गर्न उनले दुई ठूला पार्टी एमाले र कांग्रेसका विरुद्धमा मोर्चा उभ्याएका थिए। तर, त्यतिबेलाको मोर्चा सरकार बाहिर रहेका दलहरका बिचमा भएको थियो।

अहिले मुख्यगरी सरकारमा रहेका दलहरुकै बिचमा नै मोर्चाबन्दीको बनेको हो। हुनत प्रचण्डले संक्रमकालीन न्यायको मुद्दा अघि बढ्नासाथ पनि माओवादी पृष्ठभूमिका नेताहरुलाई एकै ठाउँमा उभ्याउने गरेका छन्। विप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रसँग एकता गर्ने चर्चा बेला बेलामा चल्नेसमेत गरेको छ।

‘रणनीतिक मोर्चा मात्रै’

माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्च रणनीति भएको बताए। उनले विचार नमिल्ने भएकाले तत्कालका लागि सो मोर्चा रणनीतिक मात्रै भएको बताएका छन्।

‘वैचारिक रुपले मिल्दा त पार्टी एकता नै हुन्छ। विचार नमिलेको र आधारभूत कार्यक्रम मिलेको हुनाले मोर्चाबन्दी हुने हो,’ गुरुङले भने।

उनले यसअघि पनि यस्तो अभ्यास भएको बताए। पार्टी एकतासम्मै पुग्न नसकेकाले मोर्चाबन्दी गर्नुपरेको गुरुको भनाइ छ।

‘कमन रुपमा जो सँग जे जे मिल्छ सहकार्य गर्ने कुरा हुन्छ। तर समाजवादी क्रान्तिका रुपमा अघि बढ्नुको विकल्प छैन। फण्डामेण्टल विषयमा समान धारणा हुने हो,’ उनले भने।

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताका लागि दुबै पार्टीले कार्यदलसमेत गठन गरेका थिए। तर, प्रचण्ड प्रधानमन्त्री भएपछि उक्त एकताको विषय छायामा परेको थियो। समाजवादी मोर्चामार्फत नेकपा ब्युँताउनुपर्ने मत एकीकृत समाजवादीका अध्यक्ष नेपालले राखिरहेका छन्।

उपेन्द्रको इन्ट्री, योजनाकार नै छुटे

समाजवादी मोर्चा बनाउनुपर्ने बहसको थालनी नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले सुरु गरेका थिए। जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको टकराव पछि भट्टराईले नयाँ पार्टी बनाएर समाजवादी मोर्चाका लागि प्रचण्ड, नेपाल लगायतका नेतासँग वार्ता गरेका थिए। बाबुराम माओवादी केन्द्रमै समाहित हुने चर्चा पनि त्यसपछि चलेको थियो। तर अहिले भने समाजवादी मोर्चामा उपेन्द्रको इन्ट्रीले भट्टराईलाई अप्ठेरो परेको छ।

‘बाबुरामलाई उपेन्द्रका कारण आउन अप्ठेरो भएको होला। उनीहरुका बिचमा मिलेन,’ एकीकृत समाजवादीका उपमहासचिव खतिवडाले भने।

मोर्चामा सहभागी नभए पनि भट्टराईले प्रचण्डलाई भेटेर मोर्चाका बारेमा छलफल भने गरेका थिए।

‘समाजवादी मोर्चा निर्माण गर्न। विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी,’ प्रचण्डसँगको छलफलपछि बाबुरामले शुक्रवार ट्वीटमा भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell