PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

कसले देख्ने यी किसानका आँसु? भन्छन् : ‘किसान बन्नु पनि अभिशाप रहेछ’



पहिलोपोस्ट

कसले देख्ने यी किसानका आँसु? भन्छन् : ‘किसान बन्नु पनि अभिशाप रहेछ’

  • बिजीशा बुढाथोकी-

काठमाडौं : विगत छ वर्षदेखि काठमाडौंको मच्छेगाँउमा २० रोपनी क्षेत्रफलमा टनेल खेती गर्दै आएका मीनबहादुर तामाङका लागि आइतवार सबैभन्दा नराम्रो दिन बन्यो। आफूले श्रम, पसिना र पैसा खर्चिएर उत्पादन गरेको गोलभेंडा फाल्नुपर्दा उनको हात थरथरी काम्यो।

गहभरी आँसु भरिएका तामाङले भने, ‘सय रुपैयाँ क्रेटमा पनि गोलभेंडा बिकेन। टनेलभरी गोलभेंडा फलेर रातै भएको छ। नटिपम् भने बोटमै बिग्रिन्छ। हामी एक्लैले काम गर्न सक्ने होइन। पाँच जनालाई तलब दिएर काम गराएको छु। अब उनीहरुलाई कसरी तलब दिने ?’

गोलभेंडा फाल्दा धेरैले किसानको आलोचना गरेको सुनेपछि तामाङ झन् कमजोर बनेका छन्। किसानले परिश्रमको मूल्य नपाएको भनेर आफ्नै उत्पादन फाल्दा पनि उल्टै गाली खानुपर्ने उनी प्रश्न गर्छन्।

‘हामीले कसैको बिगारेका छैनौं। मूल्य पाइएन भने सबैको ध्यान खिच्न रगत पसिना बगाएको उत्पादन फालेका हौं। तर त्यही निरीह किसानलाई गोलभेंडा फालेर तामाशा गरेको आरोप लगाइन्छ। किसान हुनु पनि अभिशाप रहेछ’, तामाङ केही आक्रोशित बन्छन्, ‘हामीले ऋणधन गरेर सबै शक्ति लगाएर उत्पादन गरेको सामानले बजार नपाउँदा कसैलाई पनि वास्ता छैन। यो भन्दा गैरजिम्मेवार के हुन्छ ?’

पछिल्ला दिनमा किसानले आफ्नो उत्पादनले बजार नपाएपछि सडकमा ल्याएर फाल्ने गरेका छन्। केही समय अघि चितवनका किसानले नारायणगढमा ल्याएर बन्दा फालेका थिए भने एक वर्ष पहिला दूध सडकमा ल्याएर त्यहीका किसानले फालेका थिए। किसानले सडकमा ल्याएर आफ्ना उत्पादन फालेपछि धेरैले उनीहरुको आलोचना गरेका थिए।

त्यो आलोचना कालिमाटी तरकारी बजारमा गोलभेंडा फाल्दा पनि भइरहेको छ। त्यो आलोचनाले उनीहरुको मन झन् दुखेको छ। भीमढुंगामा टनेलमा गोलभेंडा खेती गर्दै आएका रविन्द्र तिवारी एक किलो गोलभेंडा उत्पादन गर्न ३५ रुपैयाँ लाग्ने गरेको बताउँदै अहिले तीन रुपैयाँ किलो बेच्नुपरिरहेको बताउँछन्।

‘यो सामान्य विषय होइन। सयौं किसानको भविष्यसँग जोडिएको विषय हो’, उनले भने, ‘किसानले भाउ नपाएर मरिरहँदा राज्य मौन छ। यस्तो संवेदनशील विषयमा पनि कोही बोल्दैन। उल्टै किसानलाई खिसीटिउरी गरिन्छ।’

उनी अहिले बजार मूल्य नपाउनुमा उत्पादन बढी भएको मान्न तयार छैनन्।

‘केही विचौलियाले हाम्रो उत्पादनको मूल्य घटाउन भारतबाट गोलभेंडा ल्याएका छन्। नेपाली उत्पादन विस्थापित गर्न ती माफियाले खेलिरहेका छन्,’ तिवारी दाबीका साथ भन्छन्।

कालिमाटीमा तरकारी व्यवसाय गर्दै आएकी तारादेवी मगर पनि नेपाली किसानको उत्पादनलाई समाप्त पार्न भारतीय ल्याएर चलखेल गरिएको हुनसक्ने बताउँछिन्।

‘विगतमा काठमाडौंबाट चितवन, बुटवल र भैरहवासम्म जान्थ्यो। तर अहिले गएको छैन’, उनले भनिन्, ‘भारतबाट गोलभेंडा आएर यहाँको नगएको हो भन्ने कुरा आइरहेको छ।’

कालिमाटी तरकारी बजारको होल्डिङ एरियामा शनिवार रातिदेखि राखिएको करिब ६ हजार क्रेट गोलभेंडा आइतवार बिहान बजारको गेट र भित्री सडकमा फ्याँकिएको भीडमा तामाङ र तिवारीजस्ता केही दर्जन किसानहरुमा आँखामा आँसु र आक्रोश देखिन्थ्यो।

देशकै राजधानीको त्यो पनि सबैभन्दा ठूलो तरकारी बजारमा गोलभेंडा फाल्दा राज्यले सुनेको छैन। कालिमाटीबाट चार किलोमिटर दूरीमा राजकाज चलाउने सिंहदरबार छ।

किसानले फालेका गोलभेंडाले त्यो सिंहदरबारलाई पोलेन। त्यति मात्रै होइन पाँच किलोमिटर दूरीमा रहेको संसद भवनमा समेत त्यो फालिएको विषय मुद्दा बनेन्। त्यसले पनि, ‘राज्य किसानप्रति कति गैरजिम्मेवार छ भन्ने देखाउँछ।’

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ खपतको स्थिति कमजोर रहेको र उत्पादन बढी भएकोले गोलभेंडा बिक्री नभएको बताउँछन्। आफ्नो उत्पादन बिक्री नभएपछि किसानहरूले आफ्नो पीडा र आक्रोश गोलभेंडा फालेर दर्शाएको उनी स्वीकार्छन्।

उनले भने, ‘त्यत्रो मेहेनत गरेर उब्जाएको गोलभेंडा १०/१२ रूपैयाँमा पनि बिक्री भएन। यो गोलभेंडाको सिजन पनि हो। किसानको उत्पादन बढी भयो। मूल्य पाएन। बिक्री हुने अवस्था आएन। त्यही भएर फालेका हुन्।’

हाल तरकारी बजारमा दैनिक ८० टन हारहारी गोलभेंडा भित्रिने गरेको श्रेष्ठले बताए। आइतवार कालिमाटी तरकारी बजारमा ९५ हजार ५ सय ५० सानो टनेलको गोलभेंडा भित्रिएको छ।

समितिले न्यूनतम ६ रुपैयाँ किलो गोलभेंडाको भाउ निर्धारण गरेको छ। खुद्रा बजारमा भने उपभोक्ताले प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँसम्म तिरेर गोलभेंडा खरिद गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell