काठमाडौं : पोखरा महानगरपालिकाले पनि महानगरभित्रका हलहरुमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ। भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश संवाद नहटाएसम्म महानगरले उक्त फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको हो।
पोखराका मेयर धनराज आचार्यले विज्ञप्ति जारी गर्दै भारतीय चलचित्रको प्रदर्शन रोकिएको जानकारी दिएका हुन्।
‘'आदिपुरुष'मा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द असच्चिएसमम पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
यसअघि काठमाडौं महानगरले नगरभित्रका हलहरुमा भारतीय फिल्मको प्रदर्शन रोकेको थियो। काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आदिपुरुषमा समावेश संवाद नहटाएकाले सोमवारबाट महानगरका हलमा भारतीय चलचित्र प्रदर्शनमा निषेध गरिएको फेसबुकमा उल्लेख गरेका थिए।
‘आदिपुरुष’मा सीतालाई ‘भारतकी छोरी’ भन्ने संवाद रहेको भन्दै नेपालमा फिल्म विवादित बनेको थियो। यद्यपि, फिल्मको उक्त संवादलाई नेपालको सेन्सर बोर्डले हटाएको थियो।
भारतलगायत अन्य ठाउँमा प्रदर्शन हुने फिल्मबाट उक्त संवाद हटाउनुपर्ने मेयर साहले जनाएका थिए। उनले आपत्तिजनक अंश हटाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार समेत गरेका थिए।