नेपालमा दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को चर्कँदो विवादबिच भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले पत्र पठाउँदै प्रष्टिकरण दिएको छ।
चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लेखिएको पत्रमा ‘आदिपुरुष’ का निर्माताले नेपालीहरूको भावनालाई ठेस पुर्याउने कुनै सोच नराखेको उल्लेख गरेका छन्। साथै नेपाली जनताको भावनामा ठेस पुर्याएको भए पात्रमार्फत् माफी समेत मागिएको छ।
कम्पनीका तर्फबाट राधिका दासद्वारा हस्ताक्षरित पत्रमा आदिपुरुषमा समावेश गरिएको संवादमा सीताको जन्मको विषय नभई सम्पूर्ण भारतीय महिलाहरुको स्वाभिमानको सन्दर्भ जोडिएको उल्लेख गरिएको छ।
‘फिल्ममा प्रभासले निर्वाह गरेको श्री राघवको संवादले (आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डालनेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रर उठेगा) जन्मस्थानको कुनै सन्दर्भ छैन।’
भारतले संसारका सबै महिलाहरूको सम्मानलाई महत्वका साथ हेर्ने बताउँदै आदिपुरुषलाई कलात्मक प्रदर्शनको रूपमा लिन समेत आग्रह गरिएको छ।
भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई ‘भारतकी छोरी’ भन्ने संवाद रहेको भन्दै नेपालमा फिल्म विवादित बनेको थियो। यद्यपि फिल्मको उक्त संवादलाई नेपालको सेन्सर बोर्डले हटाएको थियो। भारत लगायत अन्य ठाउँमा प्रदर्शन हुने फिल्मबाट उक्त संवाद नहटाएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने महानगरले निर्णय गरिसकेको छ। सोही निर्णयअनुसार आज काठमाडौं महानगरका हलहरुमा आदिपुरुषको प्रदर्शन रोकिएको छ।