PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ताप्लेजुङको मेहेलेमा पहिरो जाँदा एक जना बेपत्ता, दुई जना घाइते



पहिलोपोस्ट

ताप्लेजुङको मेहेलेमा पहिरो जाँदा एक जना बेपत्ता, दुई जना घाइते
प्रतीकात्मक फाइल फोटो।

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा सोमवार बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।

पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियाले जानकारी दिए। उनका अनुसार सुरेशका बुवा केशर बहादुर राई सम्पर्कमा नरहेको बताइएको छ।

मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो। घाइते भएकाको उपचारका लागि अन्यत्र लैजान हेलिकोप्टरको आवश्यकता देखिएकाले स्थानीयस्तरबाट पहल भइरहेको उनको भनाइ छ।

घर नजिकै सडकमा रहेको मोटरसाइकल थन्क्याउन निस्किएका समयमा आएको पहिरोमा परी घाइते र बेपत्ता बनेको खबर आफूले पाएको स्थानीय भुपाल मंरातीले जानकारी दिए।

शनिवार साँझदेखि भएको वर्षा अझै रोकिएको छैन। मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको कमल कडरियाले बताए।

मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा यो पटक अत्यधिक वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण त्यहाँका नागरिक त्रसित भएर बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए।

मेहेलेमा शनिवार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा मात्र छ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell