PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काठमाडौंका सिनेमाघरबाट हिन्दी फिल्म 'आउट', अधिकांश 'शो' मा हलिउड फिल्महरु



लक्ष्मी बलायर

काठमाडौंका सिनेमाघरबाट हिन्दी फिल्म 'आउट', अधिकांश 'शो' मा हलिउड फिल्महरु

काठमाडौं : आज बिहानदेखि काठमाडौं महानगरका सिनेमा हलहरुमा हिन्दी फिल्म चल्न छाडेका छन्। यहाँका सबै मल्टिप्लेक्समा हलिउड र नेपाली फिल्ममात्र छन्। नेपालका फिल्मले न्यून शोज् अकुपाइ गरेका छन् भने अधिकांशले हलिउड फिल्ममात्र राखेका छन्।

सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा नेपाली फिल्म जारीको एक शो छ। बाँकी हलिउडका फिल्महरु दी फ्लास, इलिमेन्टल, टर्मिनेटर, स्पाइडर म्यान र द लिटिल मेरमिडले शोज् ओगटेका छन्।

त्यसैगरि वान सिनेमाजले पनि हिन्दीबाहेकका फिल्ममात्र हलमा राखेको छ। उक्त मल्टिप्लेक्समा सबै हलिउड फिल्ममात्र बाँकी छन्। एफ क्यूब सिनेमाजले जारी र नीरफूल दुई नेपाली फिल्म बाहेक अन्य हलिउडका फिल्मलाई नै निरन्तरता दिएको छ। क्युज सिनेमाजले पनि नीरफूललाई एक शो दिएको छ भने बाँकी हलिउडका फिल्ममात्र प्रदर्शनमा राखेको छ। रञ्जना सिनेप्लेक्सले सबै शोमा हलिउड फिल्म लगाएको छ।

विश्वज्योतिमा पनि दुई डकुमेन्ट्री सहित चार हलिउडका सिनेमालाई शो दिएको छ। 

काठमाडौं महानगरबाट भारतीय फिल्म रोक्नुपर्ने निर्देशन आएपछि सोमबारदेखि सबै भारतीय फिल्महरु रोकिएको हलसञ्चालकहरु बताउँछन्।महानगरको निर्देशनपछि सबै भारतीय फिल्महरुको प्रदर्शन रोकेको बताउँछिन् क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरी।

‘महानगरको आदेशपछि हामीले काठमाडौंको सिभिल मल,छाँया सेन्टर र दरबार मलका हलहरुमा सबै हिन्दी फिल्मको प्रदर्शन रोकिसक्यौं। काठमाडौं बाहिरका हलहरुमा रोक्ने/नरोक्ने भने फाइनल हुन सकेको छैन,’उनले भनिन्।

त्यसैगरि, सिडिसी सिनेमाजका हल व्यवस्थापक जीवन शाक्यले पनि आजबाट कुनै पनि भारतीय फिल्म रिलिज नगरेको जानकारी दिए।

भारतीय फिल्म आदिपुरुषको संवादमा रहेको विषयवस्तुलाई लिएर काठमाडौंका मेयर बालने शाहले तीन दिने अल्टिमेटम दिएका थिए फिल्ममा संवाद सच्याउनका लागि। उनले दिएको समयभित्र नसच्चिएमा आदिपुरुष मात्र होइन, सबै हिन्दी फिल्म प्रदर्शनमा उनले रोक लगाउने चेतावनी दिएका थिए।

नेपालमा दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को चर्कँदो विवादबिच भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले पत्र पठाउँदै प्रष्टिकरण दिएको थियो।

चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लेखिएको पत्रमा ‘आदिपुरुष’ का निर्माताले नेपालीहरूको भावनालाई ठेस पुर्‍याउने कुनै सोच नराखेको उल्लेख गरेका छन्। साथै नेपाली जनताको भावनामा ठेस पुर्‍याएको भए पात्रमार्फत् माफी समेत मागिएको छ।

कम्पनीका तर्फबाट राधिका दासद्वारा हस्ताक्षरित पत्रमा आदिपुरुषमा समावेश गरिएको संवादमा सीताको जन्मको विषय नभई सम्पूर्ण भारतीय महिलाहरुको स्वाभिमानको सन्दर्भ जोडिएको उल्लेख गरिएको छ।

‘फिल्ममा प्रभासले निर्वाह गरेको श्री राघवको संवादले (आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डालनेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रर उठेगा) जन्मस्थानको कुनै सन्दर्भ छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell