PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

हिट वेभले उत्तर प्रदेश र बिहारमा ९६ जनाको ज्यानै गयो, नेपालमा के छ असर?



पहिलोपोस्ट

हिट वेभले उत्तर प्रदेश र बिहारमा ९६ जनाको ज्यानै गयो, नेपालमा के छ असर?

काठमाडौं : वर्षायामको सुरुवात भए पनि गर्मीले घट्ने संकेत दिएको छैन। यसपाला मनसुन ढिलोगरि भित्रिँदा गर्मी अत्याधिक बढेको छ जसले तराईका जिल्लामा 'हिट वेभ'को जोखिम बढेको छ। त्यसैलाई लिएर सरकारले हिट वेभबाट बच्न सबैसँग आग्रह गरेको छ।

तराईमा गर्मी कति छ भन्ने कुरा त्यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि नै अडिनुले देखाउँछ। काठमाडौंमा पनि तापक्रम मनसुनमा हुनेभन्दा माथि नै छ। 

नेपालका तराईसँग जोडिएका भारतका दुई प्रदेशमा भने हिट वेभले ज्यान लिन थालिसकेको छ। टाइम्स अफ इन्डियाका अनुसार कम्तिमा उत्तर प्रदेश र बिहारमा गरी ९६ वटा गर्मीका कारण मृत्यु भएका केस सार्वजनिक भएका छन् पछिल्ला तीन दिनमा। उत्तर प्रदेश र बिहार नेपालको सबैभन्दा लामो सीमा जोडिएका भारतका दुई प्रदेश हुन्।

उत्तर प्रदेशमा हिट वेभका कारण ५४ जनाको ज्यान गुमेको छ। बिहारका १५ जिल्ला हिट वेभका कारण प्रभावित छन्। ४२ जनाको त बिहारमा ज्यान नै गइसक्यो। पटनामा अझै २ सयभन्दा बढी मानिस अस्पताल भर्ना भएका छन्। उनीहरुमा सुखापन, पेट दुख्‍ने  र वान्ता हुने समस्या देखिएको छ। यहाँ भर्ना भएका व्यक्तिमा छाती दुख्‍ने, सास फेर्न कठिन हुने र ज्वरोजस्ता संक्रमण देखिएको छ। 

नेपालमा के छ अवस्था ?

नेपालका कतिपय जिल्लामा यसपटक गर्मीले रेकर्ड नै तोड्यो। उच्च तापक्रमको आफ्नो रेकर्ड पुनः ‘ब्रेक गर्दै’ जेठ २६ गते नवलपुरको तापक्रम ४४ डिग्री सेल्सियस पुगेको थियो। अन्य जिल्लाहरुमा पनि तापक्रम बढेको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन सम्मको देशभरको तापक्रमको अवस्थाको विश्लेषण गर्दा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपूर, नवलपरासी जिल्लामा अत्याधिक गर्मीको सम्भावना अझै रहनेदेखिएको छ। कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा  थोरै तापक्रम घटे पनि गर्मीको सम्भावना यथावत् रहने देखिएको छ। तराईका क्षेत्रमा तातो हावा चल्ने सम्भावना रहेको भन्दै महाशाखाले यी सबै जिल्लामा सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्‍न विभिन्न उपाय अपनाउन सुझाएको छ।

तातो हावा तथा लूबाट बच्‍न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell