फुङ्लिङ : ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बुवा बेपत्ता भएका छन्। सोमवार बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो।
सुरेशका बुवा ६७ वर्षीय वृद्ध केशर बहादुर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बुवा बेपत्ता भएको जानकारी दिए।
त्यस्तै, सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए।
उनका अनुसार पहिरोमा गम्भीर घाइते भएका राजकुमार राईलाई उपचारमा लैजानका लागि समेत समस्या भइरहेको छ।
ओढारमा बसेका तीन जना सम्पर्कविहीन
ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्। बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका-७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।
निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो। गत सोमवार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए।
बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरेर बस्नुपरेको सिदिङवा गाउँपालिका-७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए। उनका अनुसार उनीहरु बसेको ओढारको तीनतिर खोला छन्।
कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बिचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्ष तामाङले जानकारी दिनएको छ।
उनले भने, ‘बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर जान सम्भव छैन। पानी केही छिनमा रोकिने केही छिनमै पर्ने क्रम चलिरहेको छ।’
सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइ छ। सोमवार पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए।
उद्धारका लागि आइतबार नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङ आएपनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन। सोमवार बिहान नेपाली सेनाको हेलिकोप्टर काठमाडौंदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेश कुमार भट्टराईले जानकारी दिएका छन्। रासस