PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

जिम्बावेसँग खेलेको अनुभव लिएर अमेरिकाको सामना, के भन्छन् प्रशिक्षक देशाई?



पहिलोपोस्ट

जिम्बावेसँग खेलेको अनुभव लिएर अमेरिकाको सामना, के भन्छन् प्रशिक्षक देशाई?
फाइल फोटो

काठमाडौं : नेपालले क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेसँग पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको छ। आइतवार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध सानदार सुरुवात, बीचको मध्यम प्रदर्शन र अन्तिमको फितलो प्रदर्शन नेपालको ब्याटिङमा देखियो। बलिङमा भने नेपाल निरिह नै बन्यो।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले खेलबारे कुरा गर्दै 'मोमेन्ट' बनाएर पनि जिम्बावेको अनुभव सामु नेपालले संघर्ष गर्नुपरेको बताए।

'हामीले यहाँ पहिलो खेल खेल्दै गर्दा २८० या ९० को लक्ष्य सेट गर्ने सोचिरहेका थियौं। ओपनरहरुबाट हाम्रो उत्कृष्ट प्रदर्शन भयो। १७० रन भन्दा धेरैको साझेदारीले हामीलाई प्लाटफर्म दियो,' उनले भने, 'खास गरि मुजरबानीको अनुभवले काम दियो। त्यस्तै अर्का स्पीनरको प्रदर्शन पनि राम्रो थियो।'

उनले पछिल्ला ५-६ ओभरमा रन जोड्न नसकेको स्वीकारे। 'खासगरि सन्दीप विकेट लिन सक्षम खेलाडी हो। तर, ब्रेक थ्रू मिलेन,' उनले विपक्षीको सानदार प्रदर्शनलाई पनि तारिफ गर्न छुटाएनन्, 'हामी त्यो टोलीसँग खेलिरहेका थियौँ जोसँग क्रिकेटको गहिरो अनुभव छ । उनीहरुले आफ्नो अनुभव देखाए। यो खेलको अनुभव लिएर अर्को खेलमा केन्द्रित हुनेछौं।'

पहिलो हारको मनोविज्ञान

जिम्बावेसँगको हारलाई उनले नेपालका लागि अनुभवका रुपमा लिएको बताए।

'हाम्रा खेलाडीहरुमा खेलको भोक छ। उनीहरु यो अवसरको खोजीमा थिए,' उनले भने, 'उनीहरुले यो अवसरलाई सम्मान गरेका छन्। उनीहरुले मैदानमा जसरी खेले मलाई गौरव छ।'

जिम्बावे विरुद्धको खेलमा केही कमजोरीहरु पनि भएको उनले स्वीकारे। उनले केन्द्रीत गरेको पक्ष भनेको पछिल्ला ओभरको ब्याटिङ र बलिङमा ब्रेक थ्रूमा थियो।

'फिल्डिङको सन्दर्भमा नेपालको राम्रो थियो। जिम्बावेविरुद्ध केही कमजोरी पनि भएका थिए। यो अनुभव उनीहरुका लागि पछिसम्म काम गर्नेछ,' उनले भने।

आफ्नो सिकाइको प्रक्रियाबारे पनि देशाइले चर्चा गरे।

'मेरो प्रोसेसहरु सँधै एकैप्रकारका हुन्छन्। धेरै स्वस्थ संवादहरु, इमानदार संवादहरु, हरेक व्यक्तित्व पहिचान, उनीहरुको पृष्ठभूमिका पहिचान महत्वपूर्ण हुन्छ। त्यसका कारण म सामान्य भन्दा धेरै समय उनीहरुसँग बिताएको छु,' उनले भने।

विपक्षीको विश्लेषण

यता, जिम्बावेका कप्तान क्रेइग इरभिनले आफ्नो टोलीले सधैँ दोस्रो इनिङ्समा ब्याटिङ गर्न सहज मान्ने भन्दै ३४० भित्रै नेपाललाई समेट्ने योजना लिएको बताए।

'१० ओभरदेखि ४० ओभरसम्म त्यहाँ पाँचजना फिल्डरहरू हुँदा त्यहाँ सधैँ बाउन्ड्री हान्ने विकल्प हुन्छ। मैले सोचेको थिएँ हामीले उनीहरुलाई ३४० रन भित्रै रोक्नु पर्छ। हाम्रा बलरहरूले वास्तवमै राम्रो गरे। मलाई लाग्छ २९० रन औसत भन्दा कम थियो,' उनले भने।

उनले नेपालको ब्याटिङ सुरुवात राम्रो हुनुको पछाडि फिल्डिङमा भएको कमजोरी एउटा कारण भएको बताए।

'हामीलाई लाग्यो यो लक्ष्य पछ्याउन सकिने थियो किनभने विकेट निकै राम्रो थियो,' उनले भने।

नेपालको अर्को परीक्षा अमेरिकासँग

विश्वकप छनोटमा नेपालले अर्को खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले हरारे स्पोस्ट्स क्लबमा भएको आफ्नो पहिलो खेलमा जिम्बावेसँग हार ब्यहोर्दै गर्दा त्यही समय टाकासिंगा स्पोर्टस क्लबमा हार ब्यहोरेको थियो अमेरिकाले। वेस्ट इण्डिजसँग ३९ रनको हार ब्यहोरे पनि अमेरिकाले राम्रो चुनौती प्रस्तुत गरेको थियो।

पहिलो खेलमा पराजय ब्यहोरेका नेपाल र अमेरिका मंगलवार टाकासिंगा स्पोर्ट्स क्लबमा भिड्दैछन्। दुवै टोलीको लक्ष्य प्रतियोगितामा 'बाउन्स ब्याक' गर्ने हुनेछ।

नेपाली टोलीका प्रशिक्षक देशाइले भनिसकेका छन् : यो खेलको अनुभव लिएर अर्को खेलमा केन्द्रित हुनेछौं।

त्यस्तै अमेरिकी टोलीका कप्तान मोनांक पटेलले वेस्ट इण्डिजविरुद्धको खेलबाट आफ्नो कमजोरी थाहा भएको बताउँदै यसको सुधार अर्को खेल (नेपालसँगको) खेलबाट गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell