काठमाडौं : फिल्म वितरण कम्पनी ब्यांकटेस फिल्म्सले नेपालभर 'आदिपुरुष'को प्रदर्शन रोक्ने निर्णय गरेको छ। काठमाडौं महानगरले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएसँगै सिनेमाघरमा आज हिन्दी फिल्म चलेका छैनन्। बिना कुनै आधिकरिक पत्र फिल्म हटाइएको भन्दै वितरक कम्पनीले देशभर आदिपुरुषको प्रदर्शन रोक्ने निर्णय गरेको हो।
देशव्यापी रुपमै हलबाट ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने निर्णय गरेको यस फिल्मका वितरक मनोज राठीले जानकारी दिए।
‘सबैतिर धमाधम फिल्मको प्रदर्शन रोकिँदैछ। जसकारण हामी पनि फिल्म हटाउन बाध्य भयौं,’ उनले भने।
सेन्सर पास भइसकेको फिल्मलाई रोक्ने महानगरको निर्णय बुझ्न नसकेको उनले बताए।
‘सेन्सर पास भइसकेको फिल्मलाई यसरी रोक्न नहुने हो। त्यसमाथि महानगरबाट प्रदर्शन रोकिनेबारे पत्र समेत आएन। फेसबुकमै स्टाट्स लेखेर फिल्मको प्रदर्शन रोकिन्छ भने हामीले किन फिल्म चलाइराख्ने ? हामी त त्यसै पनि डुबिसक्यौं,’उनले भने।
काठमाडौं महानगरपालिकाको निर्देशनसँगै सोमवारबाट काठमाडौं महानगरका १७ वटा हलमा भारतीय फिल्महरुको प्रदर्शन रोकिएको छ। भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश सीता सम्बन्धी एक संवाद नहटाइएपछि महानगर प्रमुख बालेन्द्र शाहले हललाई हिन्दी फिल्मको प्रदर्शन रोक्न आदेश दिएका थिए।
काठमाडौं महानगरपालिकाका हलसहित पोखराको हलहरुमा पनि ‘आदिपुरुष’ को प्रदर्शन रोकिएको छ।