
बुटवल : दाङ प्रहरीले किर्ते नागरिकता बनाएको अभियोगमा ८ जनालाई पक्राउ गरेको छ। राजपुर गाउँपालिका-५ का ५६ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र उनकी श्रीमती ५६ वर्षीया जोगिनी विश्वकर्माले छोरीको छोरालाई आफ्नो छोरा बनाएर नागरिकता दिलाएपछि साक्षी बस्नेसहित ८ जनालाई प्रहरीले आइतवार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमका अनुसार उनीहरुले बैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट १९ वर्षीय नाति विवेक विश्वकर्मालाई छोरा बनाएर नागरिकता दिलाएका थिए। नागरिकता प्राप्त गर्ने नाति, बाबुआमा बन्ने हजुरबुबा, हजुरआमासँगै साक्षी बस्ने ५ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने साक्षीहरुमा राजपुर-५ की ३५ वर्षीया गौसरी बोहरा, ५२ वर्षीया सावित्रा कुमारी विश्वकर्मा, ४६ वर्षीया बुधिमाया घर्ती, १९ वर्षीय रमेश घर्ती र ३६ वर्षीया मनकुमारी घर्ती छन्।
मावली हजुरबुबा, हजुरआमा बाबुआमा बनेर नातिलाई नागरिकता दिलाएको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकालाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए।