PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

पूर्वी नेपालमा बाढी पहिरो : ६ जनाको मृत्यु हुँदा २९ जना अझै बेपत्ता, ९७ घरपरिवार विस्थापित



पहिलोपोस्ट

पूर्वी नेपालमा बाढी पहिरो : ६ जनाको मृत्यु हुँदा २९ जना अझै बेपत्ता, ९७ घरपरिवार विस्थापित
बाढीले बगाएको मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोला पुल। तस्विर : रासस

काठमाडौं : अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरामा परी सङ्खुवासभामा एकजना, ताप्लेजुङमा तीनजना, पाँचथरमा एकजना र नुवाकोटमा एकजना गरि ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मृतकमध्ये पाँचजना पुरुष र एकजना बालिका रहेका छन्। साथै बाढी एवं पहिरामा परी सङ्खुवासभामा तीनजना, ताप्लेजुङमा दुईजना र पाँचथरमा एकजना गरि ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।

यस्तै, बाढी पहिरामा परी सङ्खुवासभामा २१ जना, ताप्लेजुङमा तीनजना र पाँचथरमा पाँचजना गरि २९ जना बेपत्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले बताए। बेपत्ताको खोजी कार्य जारी रहेको पनि उनले बताए।

बाढी एवं पहिराका कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, ५ वटा उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६७ वटा पशुचौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन्।

बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell