काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको सरकारले बाटो बिराएको हो कि भन्दै प्रश्न गरेका छन्। नेपाली कांग्रेसका कार्यवाहक सभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कोइराला यस्तो प्रश्न गरेका हुन्। 'हामीहरु कता कता अलिकति बाटो बिराएको हो कि भन्ने आभास हुन्छ। लोकतन्त्र भनेको सुशासन र दण्डहीनताको अन्त्य हो। हामी लोकतन्त्रको कुरा गर्छौ,' कांग्रेस सम्बद्ध नेपाल ट्रेड युनियनको सातौं महाधिवेशनलाई काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै कोइरालाले भने, 'नेपाली कांग्रेसमात्र लोकतान्त्रिक पार्टी हो भन्छौ। तर खरो उत्रन नसके लोकतन्त्र सुदृढ हुन सक्दैन। मलाई चिन्त दण्डाहीनताको छ। सुशासनको छ भ्रष्टाचार मौलाएको चिन्ता छ। सरकारमा कांग्रेस साथीको उल्लेख्य उपस्थित छ।'
बजेटलाई लिएर कांग्रेसका नेताहरुलाई अहिलेको सत्ता गठबन्धनका सहयात्रीले अप्ठेरो पार्न सक्ने संकेतसमेत गर्दै कोइरालाले थपे, 'कांग्रेसले धेरै बोलेको छैन। बजेटलाई हामीले भनेको कुरा नभए पास हुन दिन्नौं। भनेर अरु पार्टीले भनेका छन्।'
आलु, प्याज र स्याउमा भ्याट बढाएर सरकारले गलत गरेकोसमेत उनको भनाई थियो। 'दोस्रो कुरा मैले नबुझेको हो कि। जिल्ला जिल्लामा निर्वाचन आयोगलाई सिडिओ अफिसमा लगाएपछि कसरी निर्वाचन निष्पक्षता हुन्छ? आलु, प्याज र स्याउमा भ्याट। जनतालाई के भनेको छ भने बाहिरबाट आएको आलु, प्याज र स्याउमा लगाएपछि नेपालको सस्तो हुन्छ भनेर,' कोइरालाले भने, 'भ्याट लगाएपछि कही सस्तो हुँदैन। भान्सा महँगो भइसक्यो भन्ने कुरा छ।'