PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अमेरिकी विदेशमन्त्रीलाई चीनको सन्देश : विश्व दुई देशबिचको युद्ध चाहँदैन, ताइवानबारे सम्झौताको लागि कुनै ठाउँ छैन



विधुर ढकाल

अमेरिकी विदेशमन्त्रीलाई चीनको सन्देश : विश्व दुई देशबिचको युद्ध चाहँदैन, ताइवानबारे सम्झौताको लागि कुनै ठाउँ छैन

सांघाई : बेइजिङको भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्। बेइजिङ स्थित ग्रेट हल अफ पिपलमा उनले राष्ट्रपति सिसँग भेट गरेका हुन्।

भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले विश्व विकसित भइरहेको र समय परिवर्तन भइरहेको उल्लेख गर्दै विश्वलाई सामान्यतया स्थिर चीन-अमेरिका सम्बन्धको खाँचो रहेको बताए।

'दुई देशले एक अर्काको हितको कदर गर्नुपर्छ। उनीहरूको सफलता एकअर्काका लागि खतरा नभई अवसर हो,' राष्ट्रपति सिको भनाइ उदृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ,'विश्व चीन र संयुक्त राज्य अमेरिकाबिच द्वन्द्व वा मुठभेड वा दुई देशबिचको पक्ष रोज्न चाहँदैन र दुई देशबिच शान्तिपूर्वक सहअस्तित्व कायम होस् र मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध होस् भन्ने उसको अपेक्षा छ।'

ठूला देशहरुबिचको प्रतिस्पर्धाले अहिलेको चुनौतीको समाधान नगर्ने तथा अमेरिकाको आफ्नो आन्तरिक समस्या पनि समाधान नहुने राष्ट्रपति सीले ब्लिन्केनलाई बताएका छन्। साथै, उनले चीनले अमेरिकाको चासोको सम्मान गर्दै अमेरिकालाई चुनौती दिने वा प्रतिस्थापन गर्ने कुनै चाहना नराखेको भन्दै अमेरिकाले पनि चीनको सम्मान गर्नुपर्ने र चीनको वैधानिक अधिकार र चाहनालाई ठेस पुर्‍याउन काम बन्द गर्नु आवश्यक रहेको बताएका थिए।

सीले चीनले अमेरिकासँग सधैँ स्थिर सम्बन्ध चाहेको बताए। साथै, बालीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र आफूबिच भएको साझा बुझाइको कार्यान्वयन र सकरात्मक अवतरण र चीन-अमेरिका सम्बन्ध सुधारको लागि दुवै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए।

भेटका क्रममा अमेरिकी विदेश मन्त्री ब्लिन्केनले राष्ट्रपति बाइडेनको शुभकामना सीलाई सुनाउँदै दुई दशबिचको सम्बन्ध सुधार दुवै देश र विश्वकै हितमा रहेको बताएका थिए। उनले पनि बालीमा भएको एजेन्डाको कार्यान्वयनमा अमेरिकी प्रतिबद्ध रहेको बताएका थिए। साथै अमेरिकाले नयाँ शीत युद्ध नचाहेको, चीनको प्रणाली परिवर्तन नचाहेको र यसको अन्य देशसँग सम्बन्ध चीन प्रति लक्षित नभएको साथै 'ताइवान स्वन्तत्रता' समर्थन नगर्ने प्रतिवद्धताबाट अमेरिका पछि नहट्ने 'ग्यारेन्टी' ब्लिन्केनले सीलाई सुनाएका थिए।

यसैबिच सोमबार नै ब्लिन्केनले चीनका वरिष्ठ कुटनीतिज्ञ तथा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य, परराष्ट्र मामिला आयोगका निर्देशक वाङ यीसँग पनि भेट गरेका छन्। सो भेटमा वाङले अमेरिकासँग 'चाइना थ्रेट'को अपवाह फैलाउन रोक्न माग गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। साथै उनले अमेरिकाले चीनमाथि लगाएको अवैध तथा एकतर्फी प्रतिबन्ध हटाउन माग पनि गरेका छन्। त्यस्तै, उनले ताइवान प्रश्न चीनको आन्तरिक मामिला भएको भन्दै चीनसँग यस मामिलामा 'सम्झौताका लागि कुनै ठाउँ नरहेको' बताएका थिए।

त्यस्तै उनले एसिया प्रशान्त क्षेत्रमा अमेरिकासँग सहकार्य र संवादका लागि चीन तयार रहेको जानकारी दिएका थिए। यस वर्ष अमेरिकाले एपेक एकनोमिक लिडर समिट आयोजना गर्दैछ। वाङले सो मिट आयोजना गर्दा अमेरिकासँग एसिया-प्यासिफिक नीति सुधार गर्ने अवसर रहेको बताएका थिए। वाङले अमेरिकी इन्डो-प्यासिफिक स्ट्राटेजी यस देशका देशहरुलाई प्रतिद्वन्द्विता बताउने र क्याम्पमा आधारित टकराव सिर्जना गर्ने नीति भएको बताएका थिए।

आइतबार दुई दिने बेइजिङ भ्रमणमा आएका ब्लिन्केनले आइतबार नै चिनियाँ विदेश मन्त्री छिन काङसँग भेट गरेका थिए। सो भेटमा दुवै पक्षबिच उच्चस्तरी भ्रमणलाई निरन्तरता दिँदै संवादलाई अगाडि बढाउन सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell