काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले असारभित्रै केन्द्रीय समिति बैठक बस्ने बताएका छन्। ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्दै केन्द्रीय समितिबाटै नीति महाधिवेशनको तय गर्ने बताए। 'हामी असार महिनाभित्र सम्भवत, मैले ठ्याक्कै मिति त तोक्न मिल्दैन, हामी केन्द्रीय समितिको बैठक सम्पन्न गर्नेछौं,' उपप्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका खड्काले भने, 'त्यो केन्द्रीय समितिमार्फत हामी नीति महाधिवेशनको मिति तय गर्नेछौ।'
अहिले वर्षाको अवस्थालाई हेरेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यालयमै बसेर काम शुरु गरिसकेकोसमेत खड्काले उल्लेख गरे। 'केही कार्यक्रमहरु वर्षाको अवस्थालाई हेरेर महामन्त्रीहरु काम गर्दैहुनुहुन्छ। कार्यालयमा बसेर,' उनले भने। कांग्रेसको केन्द्रीय समिति विगत ९ महिनादेखि विभिन्न कारण बस्न सकेको छैन। अहिले सभापति शेरबहादुर देउवा भने उपचारका लागि सिंगापुर पुगेका छन्।