पोखरा : पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको असारे रोपाइँ महोत्सव यसवर्ष कसेरीमा हुने भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको रोपाइँ महोत्सवको १८ औं संस्करण यस वर्ष वडा नं १३ कसेरी र २८ को डुम्रिबोटमा हुने पोखरा पर्यटन परिषद्ले जनाएको छ।
'पोखरा सबै मौसमका लागि' भन्ने मूल नाराका साथ आयोजना हुने रोपाइँ महमोत्सवले नेपालको कृषि प्रणालीबारे पर्यटकलाई प्रत्यक्ष अनुभूति दिलाउने योजना बनाएको छ। सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक कृष्णाप्रसाद भण्डारीले महोत्सवले कृषकलाई प्रोत्साहन गर्ने र आफनो पेशामा प्रति अभिप्रेरित गराउने बताए। साथै, महोत्सवले पोखरा आन्तिरक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट रहेको र सबै मौसमका लागि घुम्न योग्य रहेको सन्देश दिने उनले बताए।
पर्यटन परिषद्को आयोजनामा यस वर्ष वडा १३ र २८ ले साथ दिएको छ। परिषद्ले प्रत्येक वर्ष आयोजना गर्ने यस कार्यक्रममा खेल प्रतियोगितासमेत समावेश गर्दै आएको छ। विदेशी पर्यटकलाई आर्कषित गर्न हिलो दौड प्रतियोगितामा महिला र पुरुष समावेश गर्दै आएको छ।परिषद् दौड प्रतियोगितमा प्रथम हुने विदेशी महिला र पुरुषलाई नगद तथा प्रमाणपत्र वितरण गर्दै आएको छ।
यस वर्ष पनि प्रथम र द्वितीय पुरस्कार राखेको पर्यटन परिषद्ले जनाएको छ। यसबाहेक हल गोरुको दौड प्रतियोगिता, आमा समूहहरुबिच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, घैटोँ फुटाउने प्रतियोगिता कार्यक्रममा समावेश भएको छ।
साथै यस महोत्सवले खेती योग्य जमिनलाई संरक्षण गर्दै लैजाने विश्वास राखेको पोखरा पर्यटक परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्। कसेरीमा हुने महोत्सले त्यस स्थानको पर्यटनमा पनि टेवा पुर्याउने उनको विश्वास छ।
'हामीले आजसम्म भव्य र सभ्य रुपमा रोपाइँ महोत्सव सम्पन्न गरेका छौं। यसपटक पनि हामी महोत्सव सफल पार्ने छौं। कृषि पर्यटनका प्रर्वद्धन मुख्य उद्देश्य हो। धेरै विदेशी पर्यटकलाई उक्त महोत्सवमा उपस्थित गराउन सकिन्छ भन्ने आशा छ,' उनले भने ।