PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सचेत नहुँदा मृत्युको कारण बन्दै तिनाउ र भूतखोला ! ११ महिनामा २३ जनाको डुबेर गयो ज्यान



रमेश पराजुली

सचेत नहुँदा मृत्युको कारण बन्दै तिनाउ र भूतखोला ! ११ महिनामा २३ जनाको डुबेर गयो ज्यान

बुटवल : सोमवार दिउँसो तिनाउ खोलामा डुबेर भारतको गोरखपुरका ३४ वर्षीय विपिन धुसीयाको मृत्यु भयो। गर्मी छल्न भन्दै गोरखपुरबाट साथीहरुसँग आएका धुसीया पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबा नजिकै तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए।

तत्काल उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरे।

गत शनिवार तिनाउ खोलामै डुबेर गुल्मीका एक युवकको मृत्यु भयो। साथीहरुसँग दोभानस्थित ड्याम साइड क्षेत्रमा पुगेका गुल्मीको सत्यवती गाउँपालिका-७ का १८ वर्षीय अभिषेक परियारको डुबेर ज्यान गयो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलमा बसेर अध्ययन गर्दै आएका उनी बिदाको समयमा साथीहरुसँग पौडी खेल्न तिनाउ खोलामा पुगेका थिए। पौडी खेल्ने क्रममा अचानक खोलामा डुबेका उनी बेपत्ता भएका थिए।

घटनालगत्तै प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले अचेत अवस्थामा उद्धार गरेपनि उनलाई बचाउन भने सकिएन। उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरे।

यस्तै, शनिवार नै बुटवल उपमहानगरपालिका-११ सिर्जनानगरका ३४ वर्षीय लोकप्रसाद रजालीको तिनाउ गाउँपालिका-२ खुर्सानेस्थित दोभान खोलामा डुबेर मृत्यु भयो। साथीहरुसँग पिकनिक खान गएका रजालीको पनि पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

रजालीलाई पानीभित्र डुबेको अवस्थामा फेला पारी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।

यसैगरी, गत बिहीवार दिउँसो रामपुर नगरपालिका-८ भुजातस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया पार्वती रामजाली बेपत्ता भइन्। घर नजिकै रहेको कालीगण्डकीमा बेपत्ता भएकी पार्वतीको आइतवार बिहान डुबेको स्थानदेखि अन्दाजी १ किलोमिटर तल सोही वडाको आँपचौरमा शव फेला परेको थियो।

यी त पछिल्लो एक सातामा भएका घटना मात्रै हुन्। अहिले पनि गर्मी छल्न भन्दै तिनाउ खोला र भूतखोला क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पौडिन र घुम्न जाने गरेका छन्।

विशेषगरी, पाल्पा, रूपन्देही, नवलपरासी, कपिलवस्तुसँगै भारतका विभिन्न ठाउँहरुबाट पनि मानिसहरु सिद्धबाबा, तिनाउको ड्याम साइड र भूतखोला क्षेत्रमा आउने गर्छन्। यी ठाउँमा लगातार दुर्घटना भइरहेपनि यहाँ आउने स्थानीय र पर्यटकहरु सचेत भएका छैनन्।

बाहिरबाट घुम्न आउने मानिसहरुलाई यहाँको भौगोलिक अवस्था र खोलाको गहिराई कति छ भन्ने जानकारी नहुँदा डुब्ने गरेको स्थानीय बताउँछन्। आर्थिक वर्ष २०७९/०८० मा (असार ४ गते सम्ममा) मात्रै पाल्पामा डुबेर २३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा १२ जना पुरुष, २ जना महिला, ५ जना बालक र ४ जना बालिका रहेका छन्। तिनाउ गाउँपालिका-३ स्थित ड्याम साइट, भूतखोला र तिनाउ खोलामा मात्र ७ जना पुरुष, १ जना महिला र २ बालबालिका गरी १० जनाको मृत्यु भएको छ। यस्तै, रामपुरको कालिगण्डकी नदी तथा अन्य खोलाहरुमा डुबेर १३ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

यो तथ्यांकले पाल्पाको तिनाउ खोला र कालिगण्डकी नदीमा डुबेर मृत्यु हुनेको संख्या बढेको देखिएको छ। स्थानीय तहले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सो स्थानमा सुरक्षाका उपायहरु अपनाउनको लागि सचेत बनाउनुपर्ने थापाले बताए।

‘हरेक वर्ष तिनाउको ड्याम क्षेत्रमा डुबेर अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो छ। यसलाई पालिकाले गम्भीर रुपमा लिएर न्यूनीकरणका लागि सहकार्य गर्नुपर्छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने।

वर्षायाम सुरु भएकाले बाढी तथा खहरे खोलाहरुले बगाएर तथा तथा डुबेर मानिसको मृत्य हुने हुँदा यसबारे पनि सचेत हुनुपर्ने उनले बताए।

ड्याम क्षेत्रमा पौडी खेल्ने क्रममा होसियारी नअपनाउँदा वर्षेनी धेरैको अकालमा ज्यान जाने गरेको झुम्साका स्थानीय विष्णु पाण्डे बताउँछन्।

‘उक्त स्थानमा यसअघि पनि पटकपटक पौडी खेल्ने क्रममा डुबेर मानिसको अकालमा ज्यान जाने गरेपनि त्यहाँ जान रोक लगाउने विषयमा सम्बन्धित निकायको ध्यान पुगेको छैन’, उनले भने, ‘पौडी खेल्न राम्रोसँग जान्ने व्यक्ति जति गहिराइमा पुगे पनि भयो, तर नजान्ने व्यक्ति आफू नडुब्ने गहिराइसम्म मात्रै खेल्नुपर्छ। आफ्नै सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। स्वीमिङ नजान्नेले ट्युब लिएर पनि खेल्न सकिन्छ।’

यहाँको भौगोलिक अवस्था र नदीको गहिराईबारे जानकारी नहुँदा बाहिरबाट आउनेहरुले अकालमा ज्यान गुमाइरहेको उनको भनाइ छ।

पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गर्मी छल्न भन्दै तिनाउ खोलामा पौडी खेल्न आउनेहरु नै सजग नहुँदा हरेक वर्ष मृत्युका घटना दोहोरिने गरेको बताए। पालिकाले यस क्षेत्रमा हुनसक्ने जोखिमलाई ध्यान दिई ड्याममा जाने मुख्य गेटमा ताला लगाएपनि अन्य बाटोको प्रयोग गरी त्यहाँ जाने र पौडिने गर्दा दुर्घटना बढ्दै गएको उनले बताए।

‘हामीले त्यहाँ (ड्याममा) जाने मुख्य बाटोको गेटमा ताला लगाएका छौँ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सचेत गराउने बोर्ड पनि राखेका छौँ तर, त्यसलाई बेवास्ता गर्दै खोलामा जाँदा दुःखद घटना दोहोरिरहेका छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘धेरै जसो गर्मी छल्न आउने पर्यटकहरू यहाँका खोला तथा पोखरीहरूमा आवश्यक सुरक्षा मापदण्ड वितरित फोटो/भिडियो खिच्ने, पौडी खेल्ने लगायतका गतिविधि गर्ने क्रममा दुर्घटना हुने गरेका छन्।’

यसका साथै भूतखोला क्षेत्रमा पनि नजिक गएर फोटो/भिडियो खिच्न बन्द गरिएको र टाढैबाट अवलोकन गर्न मिल्नेगरी तारबार गरिएको अध्यक्ष श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell