PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

साफको समूह चरण नै नेपालका लागि ‘फलामको च्यूरा’ : अपराजित भारत, नौलो पाकिस्तान, बलियो कुवेत



मुकुन्द घिमिरे

साफको समूह चरण नै नेपालका लागि ‘फलामको च्यूरा’ : अपराजित भारत, नौलो पाकिस्तान, बलियो कुवेत

काठमाडौं : बुधवारबाट भारतमा साफ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालले कुवेतविरुद्ध खेल्दै प्रतियोगिता सुरु हुनेछ।

समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेल शनिवार भारतसँग र तेस्रो खेल मंगलवार पाकिस्तानसँग खेल्नेछ। नेपालले समूह चरणमा गरेको प्रदर्शनले निर्क्योल गर्नेछ - सेमिफाइनलसम्म नेपालको यात्रा।

साफ च्याम्पियनसिपको साविक उपविजेता हो - नेपाल। अघिल्लो संस्करणमा उपविजेता बनेको नेपालको साफको इतिहासमा अहिलेसम्म हात परेको सबैभन्दा माथिल्लो उपलब्धि पनि यही हो।

तर यसपटक अघिल्लो सिजन बनाएको शाख जोगाउने चुनौती ठूलो हुनेछ। उपाधि सोच्नुअघि समूह चरण पार गर्न नै यसपाला कडा प्रतिस्पर्धा हुनेछ।

कप्तान किरण चेम्जोङको शब्दमा नेपाल रहेको समूह ‘ग्रुप अफ डेथ’का रुपमा रहेको छ। एसियाली फुटबलमा बर्चस्व बनाउन लागि परेका दुई टोली भारत र कुवेत नेपालका प्रतिस्पर्धी छन्। अझ फिफा प्रतिबन्धबाट निस्किएपछि ‘डायस्पोरा’बाट खेलाडी भित्र्याएरै भए पनि पाकिस्तानले सक्दो तयारी गरिरहेको छ।

अनि नेपालको?

शहीद स्मारक ‘ए’ डिभिजन लिगको समापन कुर्दाकुर्दै तयारी राम्रो गर्न नपाएको नेपालले फिलिपिन्ससँग अभ्यास खेल खेल्यो। अघिल्लो वर्षसम्म सुरुवाती ११ मै खेल्ने गरेका मुख्य खेलाडी विदेशिँदा टोलीलाई ठूलै मार परेको छ। फिलिपिन्ससँग १-० गोलको हार ब्यहोरेपछि नेपालको अब ध्यान साफ च्याम्पियनसिपमा कुवेतसँगको पहिलो खेलमा हुनेछ।

नेपालको समूहमा रहेको प्रतिस्पर्धी कस्ता छन् त?

 

कमजोर इतिहास लिएर पहिलो खेल कुवेतसँग

कुवेतसँग खेल्नुअघि इतिहासलाई बिर्सनु नेपालका लागि उपयुक्त हुनेछ। ९ पटक आमनेसामने हुँदा कुवेतले ८ पटक नेपाललाई हराएको छ। एकपटक चाहिँ खेल बराबरी भएको छ।

पछिल्लो पटक कुवेतसँग खेल्दा ठीक एकवर्ष अघि यही महिनामा नेपालले ४-१ गोलको हार ब्यहोरेको थियो। नेपालका लागि त्यतिबेला युवा खेलाडी दर्शन गुरुङले सान्त्वना गोल फर्काएका थिए। तर ती युवा खेलाडी भने हाल राष्ट्रिय टोलीमा छैन। उनी अस्ट्रेलिया पुगिसकेका छन्।

खैर, कुवेत फिफा वरीयताको १४३औँ स्थानमा छ। नेपाल १७४औँ मा। अर्थात, वरीयताको हिसाबले पनि कुवेत नेपालभन्दा ३१ स्थान अगाडि छ।

Photo: Kuwait Football Federation


नेपालले भिडेका पछिल्ला अन्तर्राष्ट्रिय पाँच खेलको कुरा गर्दा तीन जित, एक बराबार र एक हार ब्यहोरेको छ। पछिल्लो खेलमा नेपालले फिलिपिन्ससँग हार ब्यहोरेको छ।

अर्कोतर्फ कुवेतले पछिल्ला पाँच खेलमा तीन जित, एक हार र एक बराबरी खेलेको छ।

नेपालले लाओससँग दुईपटक, फिलिपिन्स, भुटान र पाकिस्तानसँग भिड्दा कुवेतले ताजकिस्तान, फिलिपिन्स, बहराइन, युएई र कतारसँग खेलेको थियो। कुवेत सोमवार बिहान भारत पुग्ने बताइएको छ। साफको तयारी कुवेतले इजिप्टको कायरोमा गर्‍यो।

 

उच्च लयमा भारत

साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टोली हो भारत। सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा च्याम्पियन बनेको थियो।

यसपाला पनि साफ अघिको भारतको लय लोभलाग्दो छ। आइतवारमात्र चार टोली सहभागी रहेको इन्टरकन्टिनेन्टल कपको च्याम्पियन बनेको भारत पछिल्ला ६ खेलमा अपराजित छ।

Photo:  PTI


२०२२ को सेप्टेम्बरमा भियतनामसँग ३-० गोलअन्तरले हार ब्यहोरेयता ६ खेलमा पाँच जित र एक बराबरी खेलेको छ। यसक्रममा भारतले म्यानमार, किर्गिस्तान, मंगोलिया, भानुआटूलाई हराउँदा लेबनानसँग एक जित र एक बराबरी खेलेको छ।

फिफा वरीयतामा भारत १०१औँ स्थानमा छ। अर्थात नेपाल भन्दा ७३ स्थान अगाडि। त्यस्तै भारतसँग २३ खेल खेल्दा १६ हार २ जित र ५ बराबरी खेलेको छ।

 

‘कलेक्सन’मा जुटेको पाकिस्तान

पाकिस्तान फिफाको प्रतिबन्धबाट निस्किएको एकवर्ष बढी भयो। यसबिचमा पाकिस्तानले मैत्रीपूर्ण खेल खेल्नुका साथै मेहेनत बढी गरेको क्षेत्र हो- खेलाडी कलेक्सन।

पछिल्लो पटक घोषणा गरिएको पाकिस्तानी टोलीमा सात जना ‘डायस्पोरा’का खेलाडी छन्। जसमा पोर्चुगलमा खेल्ने ईएसा सुलेमन, इङ्ग्ल्याण्डको राष्ट्रिय टोलीबाटै उमेर समूहमा खेलिसकेका ओटिस खानसमेत छन्

२५ वर्षे सुलेमन प्रिमियर लिगको क्लब एस्टन भिल्लाको एकेडेमीबाट आएका हुन्। उनले इङ्ग्ल्याण्डको यू २० टोलीबाट खेलिसकेका छन् साथै कप्तानीसमेत सम्हालिसकेका छन्। उनी हाल पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका छन्।

त्यस्तै, खान म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट सेफिल्ड युनाइटेडको एकेडेमीसम्म पुगेका थिए। इङ्ग्ल्याण्ड तल्लो श्रेणीमा खेलिरहेका उनले आफ्नो हजुरबुवा जन्मिएको राष्ट्र पाकिस्तानबाट प्रतिनिधित्व गर्ने भएका हुन्। उनीहरुलगायत स्ट्राइकर हसन बशीर र अब्दुल समद, मिडफिल्डर हारुन हमिद, राहिस नाबी र अदनान याकुब, डिफेन्डर अब्दुल्ला इकबाल र गोलकिपर युसुफ बट रहेका छन्

प्रतिबन्धबाट फर्किएपछि पाकिस्तानले पाँच वटा खेल खेल्यो। तर, सबै खेलमा पराजय ब्यहोर्‍यो। यसक्रममा पाकिस्तानले नेपाल, माल्दिभ्स, मरिसस, केन्या र जिबोउटीसँग खेलेको थियो।

पछिल्ला तीन खेलहरु भने यही हप्ता साफको तयारीका लागि खेलेको हो।  पाकिस्तान फिफा वरीयताका १९५औँ स्थानमा छ। अर्थात् नेपाल भन्दा २१ स्थान पछाडि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell