![ताप्लेजुङमा पहिरो : अझै भेटिएनन् बेपत्ता भएका तीन जना, खाजीकार्य जारी](https://pahilopost.com/assets/upload/contentthumb/Landslide5.jpg)
फुङ्लिङ : गत शनिवार राति ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन्।
सिदिङ्वा गाउँपालिका-६ मेहेले मुकुभञ्ज्याङमा शनिवार राति पहिरोले एकै घरका तीन गरी चार जनालाई बगाएको थियो। चार जनामध्ये आइतवार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार जारी रहेको जानकारी दिए।
त्यस्तै, जिल्ला प्रहरीका अनुसार आइतवार बिहान सिदिङ्वा-६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ। पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशर बहादुर राई र छोरा ३६ केशर कुमारलाई मृतावस्थामा फेला पारिएको थियो। सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राईको गग्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो। घाइते राईलाई थप उपचारका लागि मंगलवार बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ। रासस