चितवन : चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो)को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ। आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ गते उद्धार गरी ल्याइएको उनले जानकारी दिए।
यस आर्थिक वर्षमा योसँगै दुई गैँडाको बच्चाको उद्धार गरिएको छ। बाटुली पोखरी क्षेत्रबाट एक वर्षको भाले बच्चालाई उद्धार गरी कोषमै राखिएको छ। यसअघि उद्धार गरी हुर्काइएका पुष्पा र अञ्जली नामका दुई गैँडालाई गत जेठ ३१ गते निकुञ्जको लामितालमा लगेर छाडिएको छ। रासस