काठमाण्डौं : क्रिकेट विश्वकप छनोटमा आइतवार नेपालले टेस्ट राष्ट्र जिम्बावेविरुद्ध आफ्नो पहिलो खेल खेल्यो। नेपालले हरारे स्पोर्ट्स क्लबमा खेलिरहँदा सोही समयमा टाकासिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले वेस्ट इण्डिजसँग खेल्यो। दुबै खेलको समानता भनेको दुबै एसोसिएट राष्ट्र टेस्ट राष्ट्रसामू पराजित भए।
ब्याटिङमा नेपालले २९० रन बनाउँदा अमेरिका २५८ रनमा समेटियो। नेपालका लागि कुशल भुर्तेलले ९९ रन बनाउँदा अमेरिकाका देब्रेहाते ब्याट्सम्यान गजानन्द सिंहले शतकीय इनिङ्स खेले वेस्टइण्डिज विरुद्ध। १०१ रनमा अविजित रहेका उनी आजको खेलमा नेपालको टाउको दुखाइ बन्न सक्छन्। किनभने नेपालले जिम्बावेविरुद्ध ४४.१ ओभर बलिङ गरेर मात्र २ विकेट लिन सकेको थियो। बलिङमा कमजोरी भएको स्वयं प्रशिक्षक देशाइले समेत स्वीकारिरहँदा सुधारको चुनौती नेपाली बलरलाई हुनेछ।
अमेरिका र नेपाल आज दिउँसो पौने १ बजे टाकासिंगा स्पोर्ट्स क्लबमा भिड्दैछन्।
अर्कोतर्फ ब्याटिङमा पनि नेपाललाई कम चुनौती भने हुने छैन। जिम्बावेविरुद्ध शीर्षक्रमले दिएको राम्रो मोमेन्टमलाई मध्यक्रमले निरन्तरता दिन नसक्दा नेपाल ठूलो स्कोर बनाउन बाट चुकेको थियो। वेस्ट इण्डिजलाई ४९.३ ओभरमा अलआउट गर्ने क्रममा तीन अमेरिकी बलरले ३ विकेट लिएका थिए। जसमा शौरभ नेत्रभाल्कर, केल फिलिप र स्टेभेन टेलर रहेका छन्। यसको मतलब नेपालले ब्याटिङमा पनि चनाखो हुन आवश्यक हुनेछ।
अमेरिका र नेपालबिचका पछिल्ला पाँच खेलको नतिजालाई हेर्दा यही टोली बलियो भन्ने अवस्था छैन। पछिल्ला पाँच एकदिवसीयमा अमेरिका र नेपाल दुबै टोलीले दुईदुईवटा खेल जित्दा एउटा खेल 'टाइ' भएको थियो।
नेपाल आफ्ना पछिल्ला पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्येमा एउटामा मात्र पराजित छ। अर्कोतर्फ अमेरिकाले तीनवटामा जित र एउटामा हार ब्यहोरेको छ।