काठमाडौँ: क्रिकेट विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जित निकालेको छ। टाकसिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ औँ ओभरको समाप्तिमा अलआउट हुँदै २०७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ औँ ओभरको समाप्तीमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
नेपालको जितमा बलिङतर्फ करण केसी र ब्याटिङ तर्फ भीम सार्कीको सानदार प्रदर्शन रह्यो। केसीले ९ ओभर बलिङ गरेर ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए। त्यस्तै भीम सार्कीले सम्हालिएको प्रदर्शन गर्दै ११४ बलमा ७ चौका र १ छक्काको सहायतामा अविजित ७७ रन जोडे।
अमेरिकाको इनिङ्स
टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ औं ओभरको समाप्तीमा २०७ रन बनाएर अलआउट भयो।
अमेरिकाको ब्याटिङलाई धराशाही पार्न करण केसी एक्लैले ४ विकेट लिए। त्यस्तै, गुलसन झाले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट लिए।
टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले खराब सुरुवात गर्यो। १.५ र १.६ ओभरमा नेपालका करण केसीले लगातार दुई विकेट लिँदै अमेरिकालाई दबाबमा पुर्याए। पहिलो विकेटका रुपमा ४ रन बनाएका स्टेभेन टेलरलाई केसीले एलबीडब्लू आउट गराए। दोस्रो विकेट शुन्य रनमै साइतेजा मुक्कामल्ला आरिफ शेखको बलमा क्याचआउट भए।
त्यसपछि आएका कप्तान आरोन जोन्स पनि टिक्न सकेनन्। ७.५ ओभरमा करण केसीले नै कुशल भुर्तेलबाट क्याचआउट गराए।
चौथो विकेट करण केसीले ९.२ ओभरमा लिए। उनले नोस्टहस केन्जीगेलाई आरिफ शेखको हातबाट क्याचआउट गराए। उनी आउट हुँदा अमेरिकाको स्कोर बोर्डमा ४ विकेट गुमाएर १८ रन बनाएको थियो।
नेपालका लागि पाँचौ विकेट दीपेन्द्रसिंह ऐरीले लिए। उनले २१.३ ओभरमा आरिफ शेखबाट क्याचआउट गराए। त्यस्तै छैटौँ विकेटका रुपमा शुसान्त मोडनी राजवंशीको बलमा बोल्ड आउट भए। सातौं विकेट ३६.४ ओभरमा गुलसन झाले निसर्ग पटेल विकेट किपर आशिफ शेखबाट क्याचआउट गराए।
आठौं विकेट दीपेन्द्रसिंह ऐरीले लिए। उनले ४३.२ ओभरमा जेस्सी सिंहलाई रोहित पौडेलका हातबाट क्याचआउट गराए। नवौं र दशौं विकेट गुलसन झाले लिए। उनले ४८.४ ओभरमा सौरभ नेत्रभाल्करलाई बोल्ड आउट गराउँदा ४८.६ ओभरमा केल फिलिपलाई एलबिडब्लु आउट गराए।
अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक अविजित १०० रन बनाउँदा सुशान्त मोदनीले ४२ तथा गजानन्द सिंहले २६ रन बनाए।
नेपालको इनिङ्स
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ औँ ओभरको अन्त्यमा ६ विकेट बाँकी छँदा लक्ष्य भेट्टायो।
पहिलो विकेटका लागि २५ रनको साझेदारी गरेर आशिफ शेख ४.६ ओभरमा शौरभ नेत्रभाल्करको बलमा एलबीडब्लु आउट भए। उनले १६ बलमा १२ रन जोडे। १६.२ ओभरमा दोस्रो विकेट ३९ रन बनाएका कुशल भुर्तेलको गयो। उनलाई नोस्थुस केन्जिगे आफ्नै बलमा क्याच आउट गरे।
तेस्रो विकेट २६.१ ओभरमा कप्तान रोहितकुमार पौडेलको गयो। १६ रन बनाएर खेलिरहेका उनलाई निशर्ग पटेलले जसदीप सिंहको बलमा क्याचआउट गराए। चौथो विकेटका रुपमा कुशल मल्ल १३ रन बनाएर स्टेभेन टेलरको बलमा जेस्सी सिंहबाट क्याचआउट भए।
त्यस्तै भीम सार्की ७७ रन र दीपेन्द्रसिंह ऐरी ३२ बलमा ३९ रन बनाएर अविजित रहे।
अंकतालिका
अमेरिकालाई हराएसँगै नेपालले अंकतालिकामा दुई अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा लगातार दुई जित निकालेको जिम्बावे ४ अंक जोडेर रहेको छ भने एक खेल खेलेर २ अंक जोडेको वेस्ट इण्डिज दोस्रो स्थानमा छ। तेस्रो स्थानमा २ अंक जोडेको नेपाल रहँदा चौथो र पाँचौँ स्थानमा अंकविहीन नेदरल्याण्ड्स र अमेरिका छन्।
आजै सम्पन्न अर्को खेलमा जिम्बावेले नेदरल्याण्ड्सलाई ६ विकेटले नै हराएको थियो। नेदरल्याण्ड्सले दिएको ३१५ रनको लक्ष्य जिम्बावेले ४०.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो। खेलको प्लेयर अफ द म्याच बनेका शिकन्दर राजाले बलिङमा ५५ रन दिएर ४ विकेट लिँदा ब्याटिङमा ५४ बलमा ६ चौका र ८ छक्काको सहायतामा अविजित १०२ रन जोडे।
नेपालले अर्को खेलमा वेस्टइण्डिजसँग बिहीवार खेल्नेछ।