PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

‘जति धेरै बिक्री उति धेरै कमाइ’को आश्वासन : जागिर दिने नाममा क्रियटिभ मिसनको ठगी धन्दा यस्तो



सविन ढकाल

‘जति धेरै बिक्री उति धेरै कमाइ’को आश्वासन : जागिर दिने नाममा क्रियटिभ मिसनको ठगी धन्दा यस्तो
Photo: lordslibrary.parliament.uk

काठमाडौं : चारवटा झोलामा जुत्तासहित लत्ताकपडाको प्याक। त्यही सेट बिक्रीका लागि तयार। सबै सामानको कूल मूल्य १० हजार रुपैयाँ। फिक्स रेट।

प्याकमा चारवटा सामान रहेकाले एउटाको २५ सय रुपैयाँ। जिम्मेवारी त्यही सामान बेच्नुपर्ने। तर बिक्न गाह्रो ! कपडाको गुणस्तर चिन्नेले त्यति धेरै तिर्न तयार नहुने। कसलाई बेच्ने त? उनीहरुले आफ्नो सामान बिक्री गर्ने ग्राहक आफन्त र घरपरिवारलाई नै बनाउने।

मार्केटिङ स्किल, जागिरको सुनिश्चितता। नारा सुन्दै उत्प्रेरित गर्ने। जति धेरै बिक्री उति धेरै कमाउने अवसर। त्यही लोभले गर्दा उनीहरु सामान बिक्रीका लागि तयार हुन्छन्। काठमाडौंमा फेरि यस्तै धन्दा मौलाएको छ।

बिक्री गर्ने र ग्राहक बनाएपछिको कमिसन लोभले मानिसहरु तानिने नै भए। रोजगारीको खोजीमा रहेकाका लागि अवसर नै हुने भयो। तर, उनीहरुले जस्तो सोच्छन्, त्यस्तो हुन गाह्रो। कमाउनुको त परैको कुरा आफ्नै खल्तीको रकम समेत फसाउन पुग्ने। नेटवर्किङमा आधारित कारोबारको शैली यही नै हो।

सुरुमा रोजगारीको लागि १ हजारको फर्म भर्न लगाउने। त्यसपछि थप १ लाख १३ हजार रुपैयाँ लगानी गर्न लगाउने। राम्रो प्रतिफल दिने भन्दै लगानी गर्न तयार हुने। अनौठो गरी १ लाख लगानीमा थप १३ हजार गरि १ लाख १३ हजार पुर्‍याउने। १३ हजार चाहिँ करको रकम। लागानीमा पनि कर?

हो ठगी धन्दा गर्नेहरुले अनेक बहानामा यसैगरी ठगिरहेका हुन्छन्।

प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानबाट यसरी कम्पनी नै खोलेर ठगी गर्ने समुहलाई पक्राउ गरेको छ। क्रियटिभ मिसन प्रालि र ओपन सेलिङ प्रालि नामका कम्पनीबाट ठगीधन्दा गरेको पाइएपछि उनीहरु समातिएका हुन्।

प्रहरीले यस्तो ठगीधन्दा गर्ने ८ जनालाई पक्राउ गरेको हो। समातिनेमा विराटनगर महानगरपालिका वडा नम्बर १० घर भएका २६ वर्षीय पवन मगर, इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का ३० वर्षीय कुलचन्द्र बिक्की खत्री, काभ्रेपलाञ्चोकका २५ वर्षीय मनिष श्रेष्ठ र उदयपुर गाईघाटका ३१ वर्षीय ताराबहादुर राई रहेका छन्। उनीहरु क्रियटिभ मिसन प्रालिका सञ्चालक समेत हुन्।

त्यस्तै, ओपन प्रालिका सञ्चालक श्यामबहादुर निरौला, जीवन तामाङ, ‌ओमबहादुर रोकाय, बबिन शर्मा पनि समातिएका छन्।

ठगी गर्न उनीहरुले स्थानीय उत्पादनलाई प्रोत्साहन तथा बढुवा दिने नारा तय गरेको पाइएको छ। विभिन्न निकायमा दर्ता गरि विभिन्न नामका कम्पनीहरु खडा गरेर ठगीको संस्थागत कारोवार गर्दै आएको खुलेको हो। तिनै कम्पनीमा आवद्ध गराई माथि उल्लेख गरिएको शैलीमा शुल्क लिई मार्केटिङ स्किल तथा नेटवर्किङ बिजनेससम्बन्धी तालिम दिँदै आएका थिए उनीहरुले।

छोटो समयमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने प्रलोभनमा पारी मानिसहरु उनीहरुतिर आकर्षित भएको देखिन्छ। अन्तत: कामका लागि पैसा तिरेर तालिम लिनेहरु नै ठगी धन्दामा पर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो।

कम गुणस्तर तथा न्यून मूल्य पर्ने लत्ता कपडाहरु, झोला, जुत्ता लगायतका सामग्रीहरु बढी मूल्यमा खरिद गर्न लगाउँदै आएको पुष्टि भएको छ। प्रलोभनमा पारी सयौं व्यक्तिलाई तालिममा सहभागी गराएको अनुसन्धानले देखाएको छ।

काठमाडौंको रानीवारीस्थित सुमन श्रेष्ठको ५ तले पक्की घरको तेस्रो तला भाडामा लिई क्रियटिभ मिसन कम्पनी संचालन गरेको पाइएको छ। त्यस्तै, टोखा नगरपालिका स्थित एक पाँच तले घरको दोस्रो तलमा ओपन सेलिङ नामको प्रालि खोलेर दैनिक ३ सय जना भन्दाबढी मानिसलाई ठगी गर्ने गरेको देखिएको हो।

उनीहरु विरुद्ध प्रहरीले मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा काठमाडौ जिल्ला अदालतबाट दिन सात (७)  म्याद थप गरि अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell