PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

साटियो लुम्बिनीमा सङ्कलित ५४ लाख बराबरको अपरिवर्तीय मुद्रा



पहिलोपोस्ट

साटियो लुम्बिनीमा सङ्कलित ५४ लाख बराबरको अपरिवर्तीय मुद्रा

रुपन्देही : लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही गरेको छ। कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो।

लुम्बिनी विकास कोष र राष्ट्र बैंकबिच भएको सम्झौताअनुसार गत चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो। कोषले मुचुल्का उठाएर श्रीलङ्का, म्यानमार, भियतनाम, कम्बोडिया, बङ्गलादेशसहितका देशको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सीआइएमबी बैंक सिङ्गापुर पठाएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए।

उनले लुम्बिनीमा विदेशी नागरिकले पवित्र भावनाले प्रदान गरेको दान रकम नसाटिएर कागज बराबर भएकामा पटक-पटकको प्रयासपछि रकम सटही भएर आएको बताए। नेपाल राष्ट्र बैंकको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकामा सिङ्गापुरस्थित सीआइएमबी बैंकबाट राष्ट्र बैंकको खातामा ५४ लाख २९ हजार सात सय ३१ रुपैयाँ प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए।

उनले केही मुद्रा पुरानो भएकाले सटही हुन नसकेको उल्लेख गर्दै पठाइएकामध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको बताए। सोमवार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाइने पाण्डेले बताए।

गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबिच मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell