काठमाडौं : नेपाली कांग्रेसका युवा नेताहरुले थालेको पार्टी रुपान्तरण अभियानले केन्द्रमा तरंग ल्याएको छ। सोमवार सातै प्रदेशका केन्द्रदेखि विभिन्न शहरमा सम्पन्न अभियानप्रति केन्द्रीय सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का रुष्ट सुनिँदा डा शेखर कोइराला र महामन्त्री गगन थापाले भने जस लिन खोजेको देखिन्छ।
सभापति देउवाले जेठ २० गते नै ललितपुरमा भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अभियानप्रति विरोध जनाएका थिए।
‘जनतामा जाने गाली गर्ने। अर्को गए के गर्ने? मनलागी गर्ने?’ सभापति देउवाले त्यतिबेलै प्रश्न गरेका थिए।
त्यतिबेला देउवाले गाली गर्नभन्दा काम गर्नतिर लाग्न आग्रह गरेका थिए।
‘अब तपाईहरु हुनेवाला हो। म त के छ र यहाँ। सबभन्दा ठूलो पार्टी बनाइहालेँ। भोलिको दिनमा पार्टीलाई अझ बलियो बनाउनुछ’, उनले भने, ‘म पार्टी सभापति हुने हैन अब। गाली गरेर केही हुनेवाला छैन यहाँ। काम गर्नुस् न। पार्टी बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन।’
सोमवारमात्र कार्यवाहक सभापतिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्णबहादुर खड्काले पनि अभियानप्रति रोष प्रकट गरे। उनले अरुलाई औंला ठड्याएर हैन आफूतिर औंला ठड्याउन र परिमार्जन हुन निर्देशन दिए।
‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने कि नहुने? सधैं औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुनः निर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबैकुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ’, उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका खड्काले भने।
उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए।
‘व्यवहारतः जीवनशैलीमा, निर्णय शैलीमा, काम गर्ने शैलीमा, सबै शैलीमा म रुपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया सुरु हुन्छ, चाहे पार्टीको होस्, रुपान्तरणको प्रक्रिया सुरू हुन्छ,’ उनले भने।
नेपालका धेरै क्षेत्रमा यसपटक तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्दा रुपान्तरण अभियान देशभर पुगेको हो। तापक्रमले ४४ वर्षअघिको रेकर्ड ब्रेक गर्दा स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई घरभित्रै बसेर गर्मीबाट जोगिनु भनेपनि आफूहरुले देशैभर अभियान सन्चालन गरेको युवा नेता गुरुराज घिमिरे बताउँछन्।
मधेशबाट सुरु भएको रुपान्तरण अभियान मधेश, वाग्मती हुँदै कोशी पुगेर टुंगिएको छ। पार्टी रुपान्तरणका लागि वाग्मती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेश हुँदै डायस्पोरामासमेत अभियान चलाएको केन्द्रीय सदस्य मधु आचर्यले जानकारी दिए।
युवा नेताहरु गुरु घिमिरे, मधु आचार्य, भुपेन्द्र जङ शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, देवराज चालिसे, भरत खड्का, सुवास पोख्रेल, बिजुला बर्मा, धर्मेन्द्र नेम्वाङ, विष्णुदेवी पाण्डे, गोबिन्द पोख्रेल, विक्रम खनालसहितका नेताले यो अभियानलाई अगाडि बढाइरहेका हुन्। अभियानमा नरेन्द्र केरुङ, उज्ज्वल बराल, भूपेन्द्र थापा, वंशलाल तामाङ, रिता शाही, लक्ष्मी पाण्डे, विनोद खनाल, सुवास लोहनी, नबिन श्रेष्ठ, तेजेन्द्र भटराईसहितका नेता पनि सहभागी भएका थिए।
नेतृत्वको पार्टी सञ्चालन शैलीसँग असहमत हुँदै दबाब बढाउन र रुपान्तरण गर्न यो अभियान अगाडि बढाएको कर्णालीमा संयोजक तोकिएका भुपेन्द्रजंग शाही बताउँछन्।
‘नेतृत्वको शैली बदल्नुपर्छ’
संरचना र शैली नबदल्ने हो भने पार्टी झन् कमजोर हुने र नयाँ दलको चुनौती सामना गर्न नसक्ने भन्दै पार्टी नेतृत्वलाई जानकारी गराएरै अभियान सुरू गरेको अभियान पक्षधरको दाबी छ। नेत गुरुराज घिमिरेले अभियानमा उत्साहपूर्ण सहभागिता देखिएको र थुप्रै समस्या पहिचान भएको बताउँछन्।
‘हामीले सातै प्रदेशको केन्द्रमा ठूला अन्तरक्रिया गर्यौं। यी कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै कांग्रेस कार्यकर्ताले पार्टी नेतृत्व र पार्टी सरकारमा हुँदा भइरहेको कमजोरीलाई प्राथमिकताका साथ उठाउनुभएको छ’, घिमिरे भन्छन्, ‘ठूलो पार्टी भएर सरकारमा सहभागी हुँदासमेत नतिजा नपाएका हामी तपाईंहरूका समस्या के छन् भनेर पुग्दा उत्साहपूर्वक प्रस्तुत भएका छन्।’
प्रदेशस्तरीय कार्यक्रमपछि अब जिल्ला र स्थानीय तहसम्मै कार्यक्रम लिएर जाने र पार्टीभित्र सुधार र रुपान्तरणको कुनै गुन्जायस नभए जिल्ला तहबाटै विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान चलाउने उनीहरूको तयारी छ। सम्भावित चुनौतीलाई लिएर देशभर पुग्दा कार्यकर्ताले भावना पोख्न पाएको नेता जगदीश्वरनरसिंह केसी टिप्पणी गर्छन्।
उनका अनुसार पार्टीका नेताको परम्परागत शैली, विवाद, गुटबन्दी देखेर कार्यकर्ता आजित भएका छन्। पार्टीलाई तत्काल सुधार गरेर लैजानु पर्ने विषय नै अहिले चुनौतीको रूपमा उभिएको भनेर मुख्य सुझाव आएको उनको भनाइ छ।
‘पार्टीको कुनै कार्यक्रम नहुँदा हाम्रै रुपान्तरण कार्यक्रम पार्टीको अफिसियल कार्यक्रमजस्तो भएको छ। पार्टीका साथीहरुले आक्रोश, भावना पोख्न पाएका रहेनछन्। हामीले हजारौंलाई मञ्च दियौं। आक्रोश पोख्ने र भावना राखेर मन शान्त हुने मौका सबैले पाएका छन्’, भुपेन्द्र जङ शाही भन्छन्, ‘ठूलो पार्टी भएर पनि सरकारले जनजीविकाका लागि प्रभावकारी काम गर्न नसकेको, पार्टीका संरचनाले प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा मुख्य चिन्ता भएको पाएका छौं।’
सात प्रदेशका ७ ठूला अन्तरक्रियामा एक ठाउँमा एक सयजना बढी सहभागीको गुनासो सुनेको र त्यसलाई लिपिबद्ध गरिएको जानकारी युवा नेता रन्जित कर्णले दिए। सहभागीका गुनासा र पार्टीप्रतिका अपेक्षालाई प्रतिवेदन बनाएर पार्टी नेतृत्वलाई बुझाउने अभियानको तयारी छ।
पार्टी रमितामा, नयाँ दलको चुनौति
अभियानका क्रममा पार्टी ठूलो भएरपनि रमिते भएर बसेको तर नयाँ दलले चुनौती बढाएकोप्रति सजग नभएको पाइएको युवा नेता देवराज चालिसेले बताए।
‘अहिले कांग्रेस ठूलो पार्टी र सत्तामा भएजस्तो छ, तर भोलि कांग्रेस हार्ला कि भन्ने चिन्ता धेरैमा देखिन्छ किनकि हामी सुस्ताउँदै गर्दा चुनौती बनेर नयाँ दल उभिएका छन्’, भुपेन्द्र जङ शाही भन्छन्, ‘समयमा सचेत भएनौं भने हामी डुब्न सक्छौं। कार्यकर्ताको भावना पनि पार्टी नसुध्रिए अवस्था अनुकूल छैन भन्ने नै छ।’
पार्टी नसुध्रिए २०८४ को चुनाव कांग्रेसका लागि कठिन हुने मत यो अभियानका क्रममा प्राप्त गरेको उनीहरूको भनाइ छ। यद्यपि, पार्टीले केही गर्छ भन्ने आशा मारेकालाई पनि आफूहरूको अभियानले थोरै भएपनि नयाँ आशा, भरोसा र विश्वास जगाएको शाहीको टिप्पणी छ।
शेखर र गगनको जस लिने होडबाजी
रुपान्तरण अभियान ग्राउन्डमा पुगेसँग संस्थापनइतरका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाले यसको जस लिने होडबाजी गरेका छन्। अभियानमा पूर्व संस्थापननिकट धेरै भएपनि यो अभियान युवा नेताहरुले आफैँ सञ्चालन गरेका हुन।
तर अहिले अभियान सफलतापूर्वक सञ्चालन भयपछि दुवै नेताहरुले जस लिन खोजेका छन्। डा शेखरले एक अन्तर्वार्ताका क्रममा अभियान आफूले नै सञ्चालन गर्न लगाएको दाबी गरेका छन्। यसैगरी, महामन्त्री थापाले पनि अभियानको प्रशंसा गरेका छन्।
कार्यक्रम कसरी भयो सञ्चालन?
यो अभियानमा ७ प्रदेशका केन्द्रमा मुख्य र बाटो परेका जिल्लाका शहरका अन्तरक्रियाको कार्यक्रम गरेको शाही बताउँछन्। कतै पनि मञ्च, प्रमुख अतिथि र मुख्य अतिथि नबनाई अन्तरक्रियामा सुझाव लिएको उनले बताए।
‘हामीले नेतालाई मञ्चमा राखेनौं। कसैलाई विशेष आसन ग्रहण गराएनौँ। सबै तलै बसेर कार्यकर्ताको कुरा सुन्यौं। जाने नेता बोल्नेभन्दा तलका कार्यकर्ता र आम मान्छेको भावना बुझ्यौं’, अभियानकर्ता भन्छन्, ‘एउटा कार्यक्रममा एक सय जनासम्मले बोल्नुभयो। एकैपटक २० केन्द्रीय नेता ७ प्रदेश पुग्यौं।’
जेठ २ गते घोषणा गरिएको रुपान्तरण अभियान मधेश प्रदेशको जनकपुरमा जेठ ११ गते, वाग्मती प्रदेशको काठमाडौंमा जेठ १६ गते, गण्डकी प्रदेशको पोखरामा जेठ २० गते, लुम्बिनी प्रदेशको दाङमा जेठ २८ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २३ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २६ गते हुँदै जेठ ३१ गते कोशी प्रदेशको इटहरी पुगेर पहिलो चरण टुंगिएको युवा नेत्री बिजुला बर्माले बताइन्। ‘ग्राउण्ड’बाट आएका महत्त्वपूर्ण सुझाव र सबै सहभागीको धारणा रेकर्डसमेत गरिएको युवा नेता सुवास पोख्रेलले बताए।
‘सहभागीहरूको धारणा रेकर्ड गरेका छौं। भिडियो र अडियो सबै रेकर्ड हामीसँग छ’, उनी भन्छन्, ‘पार्टी हितका बारेमा आएका महत्त्वपूर्ण सुझावलाई प्रतिवेदन बनाएर सभापति र पदाधिकारीलाई बुझाउँछौं।’