PahiloPost

May 15, 2024 | २ जेठ २०८१

साफ च्याम्पियनसिप : पहिलो प्रतिस्पर्धी कुवेतसँग कति कठिन?



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : पहिलो प्रतिस्पर्धी कुवेतसँग कति कठिन?
फोटो : एन्फा

काठमाडौं : दक्षिण एसियाली फुटबलको महासंग्राम साफ च्याम्पियनसिप बुधवारबाट भारतको बेङ्ग्लुरुमा सुरु हुँदैछ। उद्घाटन खेलमा नै नेपालले कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल दिउँसो पौने ४ बजे श्री कान्तिरभा स्टेडियममा सुरु हुनेछ।

समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेल शनिवार भारतसँग र तेस्रो खेल मंगलवार पाकिस्तानसँग खेल्नेछ। नेपालले समूह चरणमा गरेको प्रदर्शनले निर्क्योल गर्नेछ - सेमिफाइनलसम्म नेपालको यात्रा।

साफ च्याम्पियनसिपको साविक उपविजेता हो - नेपाल। अघिल्लो संस्करणमा उपविजेता बनेको नेपालको साफको इतिहासमा अहिलेसम्म हात परेको सबैभन्दा माथिल्लो उपलब्धि पनि यही हो।

तर यसपटक अघिल्लो सिजन बनाएको शाख जोगाउने चुनौती ठूलो हुनेछ। उपाधि सोच्नुअघि समूह चरण पार गर्न नै यसपाला कडा प्रतिस्पर्धा हुनेछ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको समापन कुर्दाकुर्दै तयारी राम्रो गर्न नपाएको नेपालले फिलिपिन्ससँग अभ्यास खेल खेल्यो। अघिल्लो वर्षसम्म सुरुवाती ११ मै खेल्ने गरेका मुख्य खेलाडी विदेशिँदा टोलीलाई ठूलै मार परेको छ। फिलिपिन्ससँग १-० गोलको हार ब्यहोरेपछि नेपालको अब ध्यान साफ च्याम्पियनसिपमा कुवेतसँगको पहिलो खेलमा हुनेछ।

कुवेत कस्तो प्रतिस्पर्धी?

कुवेतसँग खेल्नुअघि इतिहासलाई बिर्सनु नेपालका लागि उपयुक्त हुनेछ। ९ पटक आमनेसामने हुँदा कुवेतले ८ पटक नेपाललाई हराएको छ। एकपटक चाहिँ खेल बराबरी भएको छ।

पछिल्लो पटक कुवेतसँग खेल्दा ठीक एकवर्ष अघि यही महिनामा नेपालले ४-१ गोलको हार ब्यहोरेको थियो। नेपालका लागि त्यतिबेला युवा खेलाडी दर्शन गुरुङले सान्त्वना गोल फर्काएका थिए। तर ती युवा खेलाडी भने हाल राष्ट्रिय टोलीमा छैन। उनी अस्ट्रेलिया पुगिसकेका छन्।

खैर, कुवेत फिफा वरीयताको १४३औँ स्थानमा छ। नेपाल १७४औँ मा। अर्थात, वरीयताको हिसाबले पनि कुवेत नेपालभन्दा ३१ स्थान अगाडि छ।

नेपालले भिडेका पछिल्ला अन्तर्राष्ट्रिय पाँच खेलको कुरा गर्दा तीन जित, एक बराबार र एक हार ब्यहोरेको छ। पछिल्लो खेलमा नेपालले फिलिपिन्ससँग हार ब्यहोरेको छ।

अर्कोतर्फ कुवेतले पछिल्ला पाँच खेलमा तीन जित, एक हार र एक बराबरी खेलेको छ।

नेपालले लाओससँग दुईपटक, फिलिपिन्स, भुटान र पाकिस्तानसँग भिड्दा कुवेतले ताजकिस्तान, फिलिपिन्स, बहराइन, युएई र कतारसँग खेलेको थियो। साफको तयारी कुवेतले इजिप्टको कायरोमा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell