फुङ्लिङ : बाढी-पहिरोले मुहान बगाएपछि ताप्लेजुङका विभिन्न गाउँमा अहिले खानेपानीको समस्या देखिएको छ। निरन्तर वर्षासँगै आएको बाढी-पहिरोले खानेपानी आयोजनामा क्षति पुर्याउँदा सर्वसाधारणले दूषित खानेपानी पिउन बाध्य छन्।
खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढी-पहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका-७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन्। पहिरोको कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले शुद्ध पानी खान समस्या भएको स्थानीयवासीको भनाइ छ।
बाढी-पहिरोले खानेपानीको मुहान अङ्गुवा खोला र थाढे खोलाको मुहानमा ३० भन्दा धेरै ठाउँमा क्षति पुर्याएकाले खानेपानीको समस्या आएको थाढे खोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीष्माराज लिम्बूले बताए।
उनले भने, ‘अहिले खानेपानी वितरण पूर्णरुपमा बन्द भएको छ। खानेपानीको मुहान बगाएको छ। केही खानेपानीका संरचानमा पूर्णरुपमा क्षति गराएकाले अहिले खानेपानी आपूर्तिमा समस्या भएको छ।’
बाढी-पहिरोले सुरुम खिमका केराबारी, बुरुमखिम र टारी विभिन्न खानेपानीको पाइप बगाउँदा करिब दुई सय ९० घरपरिवार खानेपानीबाट प्रत्यक्ष प्रभावित भएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले बताए। मेरिङदेन गाउँपालिकामासमेत खानेपानीको समस्या देखिएको छ।
खानेपानी आयोजनाको संरचना बाढी-पहिरोले बगाएपछि खाने पानीको समस्या भएको गाउँपालिकाले जनाएको छ। खानेपानीको पाइप, मुहान तथा ट्याङ्कीसमेत बगाउँदा ७४ घरपरिवार खानेपानीबाट वञ्चित भएको मेरिङदेन गाउँपालिकाका विपद् व्यवस्थापन समितिले जनाएको छ। रासस