PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो खेलमै धक्का, आमन्त्रित टोली कुवेतसँग पराजित



पहिलोपोस्ट

साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो खेलमै धक्का, आमन्त्रित टोली कुवेतसँग पराजित

काठमाडौं : साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल पराजित भएको छ। भारतको श्री कान्तिरभा स्टेडियममा जारी खेलमा नेपाल कुवेतसँग ४-१ गोलअन्तरले पराजित भएको हो।

खेलको २३ औँ मिनेटमा कप्तान खलिद हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाए। त्यसअघि पेनाल्टी क्षेत्रभित्र पाएको राम्रो अवसरमा नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो।

खेलको ४१ औँ मिनेटमा डिफेन्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङलाई छलाउँदै शबाइब अलखल्दीले गोल थपे। डिफेन्सिभ खेलेर काउन्ट अट्याक गर्ने रणनीतिमा देखिएको नेपालले पहिलो हाफमा प्रभावशाली अवसर बनाउन सकेन।

पहिलो हाफमा २-० गोलअन्तरले अघि रहेको कुवेतले दोस्रो हाफमा एक गोल थप्यो। नेपालले पनि एक गोल फर्काउँदै कुवेतमाथि दबाव बढाए पनि खेलमा फर्कन सकेन।

मनिष डाँगीले ५६ औँ मिनेटमा सनिस श्रेष्ठको क्रसमा पाएको अवसरमा गोल गर्न चुके।

६५ औँ मिनेटमा मोहम्मद अब्दल्लाले पेनाल्टीमा पाएको अवसर सदुपयोग गोल गरे। अनन्त तामाङले पेनाल्टी क्षेत्रभित्र 'ह्यान्ड बल' गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो।

६९ औँ मिनेटमा नेपालका लागि अञ्जन बिस्टले गोल फर्काए। नेपालको तर्फबाट कुवेतबिरुद्ध गोल गर्ने उनी तेस्रो खेलाडी हुन्। उनी अघी वाइबी घले र दर्शन गुरुङले कुवेतलाई गोल गरेका छन्।

योसँगै अञ्जन नेपालको सर्वाकालीन सर्वाधिक गोलकर्ता बन्नबाट एक गोलले पछि रहेका छन्। उनको यो १२ औँ गोल हो। नेपाली पुरुष राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा १३ गोल गरेका हरि खड्का र निराजन रायमाझी शीर्ष स्थानमा छन्।

७५ औँ मिनेटमा मोहम्मद अब्दुल्लाले गोलकिपरको दाइने तर्फबाट गरेको प्रहार कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell