PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बर्खायाम सुरु भएसँगै विपद्जन्य घटनाको जोखिम, वाग्मती सरकारले कसरी गर्दैछ पूर्व तयारी?



निशा गुरुङ

बर्खायाम सुरु भएसँगै विपद्जन्य घटनाको जोखिम, वाग्मती सरकारले कसरी गर्दैछ पूर्व तयारी?

हेटौंडा : बर्खायाम सुरु भएसँगै विपद्जन्य घटनाको जोखिम पनि बढेको छ। हरेक वर्ष वाग्मती प्रदेशका विभिन्न स्थानमा पहिरो, डुबान तथा चट्याङले धनजनको क्षति हुने गरेको छ।

यो वर्ष पनि वर्षा सुरु भएसँगै विपद्का घटनाको जोखिम पनि बढेको छ। सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, चितवन, धादिङलगायतको जिल्लामा डुबान र पहिरोको जोखिम छ।

वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७८/७९ मा उपत्यकाको तीन जिल्लाबाहेक प्रदेशको १० जिल्लामा विभिन्न प्रकारको विपद्‍मा परी १२३ जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले पहिरोमा परेर १० जनाको, ७१ जनाको डुबेर, बगाएर तथा बाढीमा परेर मृत्यु भएको जानकारी दिए। उनले सो अवधिमा १८३ जना घाइते र १४ जना बेपत्ता भएको बताए।

त्यस्तैगरी, ९० वटा पक्की, ४६७ वटा कच्ची घर तथा ९९ गोठमा पनि विपद्ले क्षति पुर्‍याएको थियो। सापकोटाले विपद्का विभिन्न घटनामा परेर प्रदेशभर २ हजार ८२७ पन्छी तथा चौपायाको मृत्यु भएको तथा ७८ चौपाया घाइते भएको जानकारी दिए।

 

के-के छन् पूर्व तयारी?

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले वाग्मती प्रदेशको विभिन्न जिल्लासहित देशैभरि मेघ गर्जनसहित भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ। मन्त्रालयका प्रवक्ता सापकोटाले विपद्का घटना हुन नदिन मनसुनको पूर्व तयारी प्रतिकार्य योजना २०८० मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको बताए।

उनले उपत्यका बाहेक जोखिमयुक्त १० वटा जिल्लाहरुलाई विपद्को घटना भइसकेपछि उद्धार गर्न र विपद्‍बाट पीडित बनेकाहरुलाई राहत वितरण गर्न प्रदेश सरकारले १ करोड बराबरको १०/१० लाख रकम पठाइसकेको जानकारी दिए। विपद् न्यूनीकरणको लागि भन्दै प्रदेश सरकारले जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई उक्त रकम पठाएको हो।

सुरक्षा निकायहरुलाई पनि तयारी अवस्थामा रहन जानकारी गराईसकेको प्रवक्ता सापकोटाको भनाइ छ।

जोखिममा रहेकाहरूलाई स्थानान्तरण गर्न र उनीहरूको विपद् आउनुअघि नै उद्धार गर्न प्रदेश सरकारको एकल प्रयासले केही नहुने उनले बताए। प्रदेशको केही स्थानमा विपद्को जोखिम भएपनि त्यहाँका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्न जग्गा अभाव भएको उनको भनाइ छ।

केन्द्र सरकारले वाग्मती प्रदेशको सिन्धुपाल्चोक, दोलखा, मकवानपुर र नुवाकोट सबैभन्दा धेरै जोखिमको सम्भावना भएको क्षेत्रहरू भएको उल्लेख गरेको छ। आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारले विपद् व्यवस्थापनतर्फ भने बजेट उल्लेख गरेको छैन।

प्रदेश सरकारले विपद् व्यवस्थापनलाई प्रदेशको शासन व्यवस्थामा आन्तरिकीकरण गर्दै लागिने छ भनेर उल्लेख गरिएको छ। विपद् व्यवस्थापनसम्बन्धी क्रियाकलापको प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न विषयगत मन्त्रालयको संरचना सुधार गर्ने र विपद् जोखिम न्यूनीकरणलाई जीवन पद्धतिको अभिन्न अंगको रुपमा स्थापित गर्न आवश्यक सञ्चालन गर्ने जनाएको छ।

 

मकवानपुरमा छैन पूर्व तयारी

मकवानपुरको १० वटा स्थानीय तहमध्ये राक्सिराङ, कैलाश, बकैया र इन्द्रसरोबर गाउँपालिका विपद्को जोखिम क्षेत्र हो।

आर्थिक वर्ष २०७८-७९ मा मात्रै मकवानपुरमा बाढीपहिरोका कारण २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चालु आर्थिक वर्ष चैत मसान्तसम्म २१ जनाको बाढीपहिरोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

अविरल वर्षाका कारण मकवानपुरका जोखिमयुक्त गाउँपालिकाका स्थानीय तहहरुले भने पूर्व तयारी गरेको पाएको छैन। मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले मात्रै पूर्व तयारी गरेको पाइएको छ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुरमार मल्लले विपद्को पूर्व तयारीका लागि स्वयंसेवकहरु तयारी अवस्थामा बसिसकेको बताए। उनले गाउँपालिकाको प्रत्येक वडामा १०/१० जना स्वयं सेवकहरुलाई तालिम दिएर विपद्को सामग्रीसहित पठाएको जानकारी दिए। उनका अनुसार गाउँपालिकाले विपद्‍मा राहत वितरण गर्नुका साथै आवश्यक सामग्रीहरु खरिद गरिसको जानकारी दिए।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले भने विपद्को पूर्व तयारीका लागि छलफलमै रहेको जानकारी दिए। त्यसैगरि, कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तानले पनि छलफलमै रहेको र अहिले बजेटको तयारीमा रहेको हुँदा बजेटको कार्यक्रम सकिने बित्तिकै तयारी गर्ने बताए।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देव कृष्ण पुडासैनीले पनि यसबारेमा छलफलमै रहेको बताएका छन्। यता, जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक सीडीयो नेत्र प्रसाद शर्माले विपद् पूर्व तयारीबारे १० वटै स्थानीय तहहरुलाई जानकारी गराइसकेको बताए।

उनले बर्खायाममा विपद्को जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय तह र सरोकारवालाहरुसँग समन्वय भइरहेको बताए। सहायक सीडीयो शर्माका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि तयारी अवस्थामा रहन भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell