काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
सो मौसमी प्रणालीका कारण हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र वाग्मती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै, देशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
महाशाखाका अनुसार बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र वाग्मती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बिहीवार राति कोशी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।