PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

मोबाइल 'रोमिङ' भारतमा, फरार व्यक्ति काठमाडौंमा : माओवादी द्वन्द्वकै बेला ठगी थालेका ईश्वरीको उमेरसँगै बढेको अपराधको ग्राफ



सविन ढकाल

मोबाइल 'रोमिङ' भारतमा, फरार व्यक्ति काठमाडौंमा :  माओवादी द्वन्द्वकै बेला ठगी थालेका ईश्वरीको उमेरसँगै बढेको अपराधको ग्राफ

काठमाडौं : प्युठान घर भएका गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोखरेल ४२ वर्षका भए। प्रहरीको अनुसन्धानलाई मान्ने हो भने ईश्वरीले आफ्नो जीवनको आधा समय त ठगी गरेर बिताए।

अर्थात प्रहरीको नजरमा उनी 'नटरवलाल' हुन्। उनीसँग ठगीका अनेक धन्दा छन्। एउटा ठगीको धन्दाबाट समातिएका उनी छुटेपछि फेरी अर्को बाटोबाट ठगी धन्दामा छिरी हाल्छन्। त्यसैले प्रहरी उनलाई भन्छन्, 'यिनी त ठगकै मास्टर हुन्।'

मंगलवार (असार ५ गते) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिउँसो उनलाई रामशाहपथबाट पक्राउ गर्‍यो। सोही दिन नै उनीविरुद्ध प्रहरी कार्यालयमा तीन वटा उजुरी परेको थियो। त्यसैको आधारमा उनलाई नियन्त्रणमा लिएको कार्यालयका एसपी मिलन केसी बताउँछन्।

गौमुखी ग्रुप अफ इन्डस्ट्री कम्पनी खोलेर उनले फेसबुक, ह्वाटसेफमार्फत प्रचारप्रसार गरे। यो निर्माण सामाग्री सप्लाई गर्ने कम्पनी हो। विज्ञापनमा रड, सिमेन्टदेखि अलकत्रसमेत उनको कम्पनीले सप्लाइ गर्ने देखिन्छ। सस्तोमा सामान दिन्छु भनेपछि धेरै मानिसले रकम दिएर सामान मगाए। तर भनेको समयमा सामान आएनमात्र, उनी सम्पर्कविहीन समेत भए। त्यसपछि प्रहरी कहाँ पीडितले पुगेर उजुरी दिएका थिए। तर प्रहरीले पक्राउ गरेपछि उनी प्रहरीले विभिन्न समयमा पक्राउ गरेका र नटरवलाल भएको खुल्यो।

उनलाई प्रहरीले पहिलेदेखि नै पक्राउ गर्न खोजेको थियो। तर उनको मोबाइल रोमिङ गरेर भारतमा भएको देखियो। प्रहरीले उनलाई काठमाडौंमा देखेन। तर प्राविधिक रुपमा नभए पनि प्रहरीलाई उनी काठमाडौंमा आएको सूचना आएको थियो। उनी तारिख बुझ्न सर्वोच्च अदालत आउने गरेको खुल्यो। मंगलवार त्यही सूचनाको आधारमा प्रहरीले सर्वोच्च वरपर रेक्की राख्यो। नभन्दै उनी पक्राउ परे।

'उ तारिखमा भने अदालत आउने रहेछ। तर मोबाइल भने भारतमा रोमिङ गरिएको थियो। सायद प्रहरीको अनुसन्धानलाई मोड्न यस्तो गरेको होला,' एक प्रहरी अधिकृतले भने।

उनले अहिलेसम्म ९८ लाख रुपैयाँ ठगी गरेको खुल्यो। पोखरेलले २०६७ साल अगाडिदेखि नै ठगी गरेको देखिएको छ। प्रहरीका अनुसार जनयुद्धका क्रममा बैंकका कर्मचारीलाई समेत ठगी गर्ने गरेको देखिएको छ। उनले काठमाडौं उपत्यकाभित्र मात्र होइन देशका विभिन्न भागमा पुगेर ठगी गर्ने गर्थे।

चितवन, दाङ, मोरङ, पर्सा,कपिलबस्तु, बाँके, प्युठानलगायतका जिल्लामा पुगेर उनले ठगी गरेको देखिएको छ। विदेश लैजानेदेखि विभिन्न बहानामा ठगी गरेको उजुरी परेको छ। त्यस्तै जबर्जस्तिकरणीको आरोप पनि पोखरेलमाथि रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट २०७९ माघ २३ गते ठगी कसुरमा पक्राउ पूर्जी जारी भएको थियो। तर उनी फरार रहेका देखियो। वैदेशिक रोजगार विभागबाट असार १ गते पक्राउ पूर्जी जारी भएको थियो। तर उनी भेटिएका थिएनन्।

'सबैभन्दा धेरै त वैदेशिक रोजगारीमा नै ठगी गरेको देखिएको छ। थप अझै अनुसन्धानबाट खुल्छ,' एसपी मिलन केसीले भने।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा २०७९ पुस २८ गते पक्राउ पूर्जी भएको थियो। त्यहाँको प्रहरीले पनि उनलाई समात्न सकेको थिए। जिल्ला प्रहरी परिसर काठमाडौं २०७९ असोज २१ गते बैंकिङ कसुर मुद्दामा अदालतबाट पक्राउ पूर्जी लिएर प्रहरीले खोजी रहेको थियो।

'अहिलेसम्म मात्र यति जिल्लाको ठगी खुलेको हो। अरु जिल्लाबाट आउने अनुमान गरेका छौँ,' एसपी केसीले भने।

यतिकैमा उनको अपराध यात्रा रोकिएको छैन। २०७९ चैत १२ गते मोरङमा ठगी कसुरको जाहेरी परेको छ। अहिले पक्राउ गरेको कार्यालयमा २०६७ मा नागरिकता कीर्ते/ ठगी मुद्दामा पक्राउ परेको व्यक्ति हुन् उनी। तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौंमा २०७२ सालमा ठगी तथा जबरजस्ती करणी कसुरमा मुद्दा चलेको प्रहरीको अनुसन्धानमा खुल्छ।

४२ वर्षीय ईश्वरी पोखरेलको उमेर बढेसँगै अपराधको ग्राफ पनि बढेको देखिन्छ। तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौं २०७६ सालमा वैदेशिक ठगी कसुरमा मुद्दा चलेको थियो। उनीविरुद्ध कपिलवस्तुबाट २०७८ सालमा वैदेशिक ठगी कसुरमा  मुद्दा चलेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँके, प्युठान, दाङ, चितवन, पर्सा र सुनसरीबाट बैंकिङ कसुरमा मुद्दा चली धरौटीमा रिहा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ। विगत लामो समयदेखि निज भारतको लखनऊमा बसोबास गर्ने र मोबाइलसमेत रोमिङमा चलाउने गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell